यी हुन् बिहीबारको मन्त्रिपरिषद बैठकका ५ निर्णय



काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्नेसहितका पाँच निर्णय गरेको छ ।

बैठकले उपरथी पाण्डेले व्यक्तिगत कारण दर्शाई पदबाट दिएको राजीनामा कात्तिक २४ बाट लागु हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्विट्जरल्यान्ड सरकारले प्रदान गर्ने स्विस फ्रेंक ४.४६५ मिलियन अर्थात करिब ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय बैठकले गरेको छ ।

राजपत्रांकित द्वितीय श्रेणी, सरकारी वकिल, राजपत्रांकित द्वितीय श्रेणी उपसचिव (राजस्व), प्रहरी नायब उपरीक्षक र राजपत्रांकित तृतीय डाटा एनाइलाइटिस्ट थप गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।


क्लिकमान्डु