१५ वर्षपछि विमानस्थलमा ड्युटी फ्रि सप खुल्दै, मदिरा निषेध पसलको भाडा १५ करोडभन्दा बढी



काठमाडौं । सरकारले १५ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि (करमुक्त) पसल सञ्चालन गर्ने भएको छ । पर्यटन मन्त्रालयले गत वर्ष ७३ बुँदे कार्ययोजना जारी गरेर विमानस्थलमा करमुक्त पसल सञ्चालन गर्ने उल्लेख गरेको थियो ।

सोही योजनालाई कार्यान्वयन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले करमुक्त पसल सञ्चालन गर्न सार्वजनिक प्रस्ताव आव्हान गरेको छ ।

नेसनल ट्रेडिङले २०२८ देखि २०६५ सालसम्म सञ्चालन गरेको उक्त पसल डा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा मध्यपान तथा धुमपानमा ड्युटी फ्रि हटाएपछि बन्द भएको थियो । उक्त ड्युटी फ्रि पसल बन्द भएको १५ वर्षपछि सरकारले फेरि आन्तरिक तथा बाह्य यात्रुलाई सोभिनियरको रूपमा सामान ल्याउन लान दिने उद्देश्य राखेको छ ।

विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तलामा रहेको प्रस्थानतर्फको २६.१ र आगमनतर्फ अध्यागमनसँगैको ७५.८ वर्गमिटर गरि कुल १०१.९ वर्गमिटर क्षेत्रफलमा करमुक्त पसल सञ्चालन गर्न दिने भएको छ ।

उक्त दुबै ठाउँको लागि छुट्टाछुट्टै वा एउटै कम्पनीले आवेदन दिन सक्ने गरी विमानस्थल कार्यालयले सोमबार सार्वजनिक प्रस्ताव मागेको छ ।

विमानस्थले मागेको उक्त प्रस्तावमा ३० दिन भित्रमा इच्छुक कम्पनीबाट आवदेन दिनुपर्ने छ । यसका लागि पाँच वर्षको एकमुष्ट भाडा न्यूनतम १५ करोड १५ लाख रुपैयाँ भाडा तिर्नुपर्ने छ । यस्तो भाडा नेपाल राष्ट्र बैंकले जारी गर्ने महंगीको दर अनुसार बार्षिक रुपमा बढ्दै जाने उल्लेख छ ।

विमानस्थलमा खोल्न दिन लागिएको यस्तो कम्पनीको लागि एउटै कम्पनलीले दुबैतर्फ वा छुट्टाछुट्टैबाट पनि आवेदन दिन सक्ने व्यवस्था भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार धुमपान र मध्यपानको सामग्री बिक्री गर्न भने पाइने छैन् । उक्त पसलमा चक्कलेट, अत्तर, नेपाली हस्तकलाकासहितको सामग्री बिक्री गर्न पाइने छ ।


क्लिकमान्डु