भाडा नबढाएसम्म दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने



काठमाडौं ।  भदौ १५ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने सरकारको प्रयास व्यवसायीका सर्तका कारण असफल भएको छ ।

प्रत्येक दशैमा टिकट बुकिङ खुलाउने समयमा व्यावसायीहरुले सर्त राख्दा बुकिङमा हरेक वर्ष यात्रुहरुलाई अन्योल हुने गरेको छ । यसवर्ष पनि व्यावसायीका कारण टिकट बुकिङमा अलमल हुने देखिएको छ ।

यातायात व्यवस्था विभाग र यातायात ब्यवसायीबीच आइतबार भएको छलफलमा व्यवसायीले भाडादर बढाउनेसहित विभिन्न मागहरु अघि सार्दै अग्रीम टिकट बुकिङ खुलाउने सरकारको प्रस्तावलाई असफल पारेका छन् ।

यसकारण दशैंको अग्रीम टिकट बुकिङ केही पर घचेटिने भएको छ । सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रीम टिकट बुकिङ खुलाउने गरेको छ । तर, ब्यवसायीले विभिन्न मागहरु अघि सारेर आफ्ना मागहरु टुंगो नलागेसम्म अग्रीम टिकट बुकिङको लागि तयार हुन नसकिने बताएका छन् ।

यो वर्ष पनि व्यवसायीले ‘उपभोक्ताको हितका लागि’ भन्दै वैज्ञानिक भाडा समायोजन गर्नेदेखि बसमा छत राख्न पाउनुपर्नेसम्मका माग अगाडी सारेका छन् ।

दशैको मुखमा भाडा बढाउनु पर्ने यातायात व्यवसायीको सर्त व्यवसायीले दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग गरेका छन् । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले अब वैज्ञानिक रुपमा भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ ।

आइतबार विभागमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आफ्ना मागहरुको सम्बोधन नभएसम्म टिकट बुकिङ खोल्नुको औचित्य नहुने बताए । २०७२ साल माघमा तेलको भाडा सामायोजन गरेपछि डिजेलमा लिटरमा ३० रुपैयाँ घटिसकेको छ ।

यातायात ब्यवस्था विभागले भाडा समायोजनका लागि एक कार्यदल गठन गरिसकेको जानकारी दिँदै एक हप्ताभित्रै समायोजनबारे बैठक बोलाएर निर्णय गर्ने सहमति जनाएको छ । ब्यवसायीले अहिले भाडादर बढेपनि वा घटे पनि छठ अघि लागू नगर्ने सहमति पनि जनाएका छन् ।

यसैगरी ब्यवसायीले बससहितको सार्वजनिक यातायातका साधनमा छत राख्न नदिने सरकारी नियम पनि हटाउन माग गरेका छन् । बसहरुमा छत नहुँदा यात्रुको झिटीगुन्टा पनि बोक्न नपाइएको भन्दै ब्यवसायीले त्यो नियम खारेज गर्न माग गरेका हुन् ।


क्लिकमान्डु