लुम्बिनी प्रदेशमा वर्षा, अन्य प्रदेशमा मौसम सफा



काठमाडौं । पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएर देशको केही भागमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू–भागको मौसम आंशिक बदली भएपनि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य मौसम बदली हुनेछ ।
आइतबार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसतै सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


क्लिकमान्डु