भारतबाट भित्रिने खसीबोका रोक्न महासंघद्वारा माग, मिलेमतोमा भारतीय खसीबोकालाई स्वस्थ्यता प्रमाणपत्र जारी भएको आरोप



काठमाडौं । नेपाल व्यवसायिक बाख्रापालक महासंघले भारतबाट अवैध रुपमा हुने खसीबोकाको आयात रोक्न सरकारसँग माग गरेको छ ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मिलेमतोमा भारतबाट भित्रिने खसीबोका कारण स्वदेशी खसीबोकाको बजार गुमेको भन्दै आयातलाई रोक्न महासंघले माग गरेको हो ।

किसानको पेशालाई संरक्षण गर्ने जिम्मेबारी बोकेको राज्य आफ्नो दायित्वबाट पन्छिएको भन्दै महासंघले आरोप समेत लगाएको छ । किसानको नाममा वितरण गरिने अनुदानसमेत पहुँचवालाले उपभोग गर्दैआएको महासंघका अध्यक्ष अध्यक्ष गोविन्द सुवेदीले आरोप लगाए ।

सुवेदीले अवैध रुपमा भित्रिने खसी बोकाका कारण आफूहरुले गरेको उत्पादनले बजार नपाएको बताए । ‘नेताहरुले उत्पादन नै नगरी खसीबोका पालेको नाममा अनुदान खाइरहेका छन,’ आरोप लगाउदै उनले भने । खसी बोकाको मासुको मूल्य बढाउने पक्षमा आफुहरु नभएको बताउदै उनले बरु लागत खर्च घटाउने बिषयमा छलफल गरिरहेको जानकारी दिए ।

सरकारले उचित अनुदानको व्यवस्था नगर्दा खसी–बोकाबाट किसानहरुले घाटा व्यहोर्नुपरेको महासंघले बताएको छ । अवैध रुपमा भित्र्याइने भारतीय खसी बोकाका कारण संक्रामक रोगको मारमा समेत किसानहरु परेको महासंघले ठहर गरेको छ ।
बाख्रा पालक किसानहरुले नेपालका पशु चिकित्सकहरुले रकमको चलखेलको आधारमा भारतबाट आउने विरामी खसीबोकालाई गुणस्तरीय र स्वस्थ्यताको प्रमाण पत्र जारी गर्ने गरेको आरोप लगाएका छन् ।

महासंघसम्बद्ध किसानहरुले डा. माधव राउतसहित विराज एण्ड विनिता सप्लार्यस र बेनीप्रसाद श्रेष्ठमाथी कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् । मिलेमतोको आधारमा भारतीय बिरामी खसीबोकालाई गुणस्तरीय भएको उनीहरुले प्रमाणपत्र जारी गरेकाले कारवाही गर्न माग किसानहरुले गरेका छन् ।


क्लिकमान्डु