एसियाली मुलुकका सीईओहरुलाई अर्थमन्त्रीको आग्रह: नेपालको जलविद्युतमा लगानी गर्नुस्
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
बिहीबार काठमाडौंमा सुरु भएको ३९औं एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।
अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए ।
सरकारले नीतिगत रुपमा व्यवस्था गरि हरित उर्जालाई प्रोत्साहन गर्ने उनले बताए । भारतले १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।
सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिवद्ध रहेको मन्त्री महतले बताए । विश्व बैंक र एडीबीले पनि नेपालको ठूलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ ।
पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको भन्दै अर्थमन्त्री महतले सरकारले विद्युत उत्पादन,साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरको दाबी गरे ।
आम जनतालाई समेत प्रत्यक्ष लाभ हुनेगरी हरित अर्थतन्त्रको विकासमा जोड दिएको महतको भनाइ छ । बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठूलो योगदान पुर्याएको उनले बताए ।
अर्थमन्त्री महतले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताए ।