सार्वजनिक संस्थानमा सरकारको पौने ८ खर्ब लगानी, सबैभन्दा बढी विद्युत प्राधिकरणमा
काठमाडौं । सरकारले हालसम्ममा सार्वजनिक संस्थानमा पौने ८ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ ।
सार्वजनिक ऋण व्यवथास्थापन कार्यालयले मंगलबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको लगानी तथा ऋण प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्म नेपालका सार्वजनिक संस्थानमा सरकारकाे ७ खर्ब ८३ अर्ब ८७ करोड ७५ लाख ५६ हजार रुपैयाँ लगानी भएकाे छ ।
सरकारले हालसम्म सञ्चालन गरेका १४८ सार्वजनिक संस्थानमा ऋण र सेयरसमेत गरी उक्त रकम लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तो रकममध्ये सेयर लगानी ३ खर्ब ८६ अर्ब ७ करोड २७ लाख ८६ हजार रुपैयाँ रहेको छ भने ऋण लगानी भने ३ खर्ब ९७ अर्ब ८० करोड ४७ लाख ७० हजार रुपैयाँ रहेको छ । सरकारले गरेको यस्तो लगानीमध्ये ५१ प्रतिशत ऋण र ४९ प्रतिशत सेयर लगानी रहेको छ ।
हालसम्म भएकाे यस्ताे लगानीमा नेपाल सरकारको आन्तरिक स्रोतबाट १ खर्ब ५२ अर्ब १५ करोड र वैदेशिक लगानीबाट २ खर्ब ४५ अर्ब ६४ करोड रुपैयाँ लगानी भएको छ ।
यस्तो लगानी हालसम्म सञ्चालनमा आएका र बन्द भएकामा समेत गरी १४८ सार्वजनिक संस्थान तथा निकायमा गरेको लगानी हो ।
नेपाल सरकारले लगानी गरेकामध्ये सबैभन्दा बढी सेयर लगानी नेपाल विद्युत प्राधिरकणमा छ । यो संस्थामा सरकारको १ खर्ब ७४ अर्ब रुपैयाँ सेयर लगानी पुगेको छ ।
त्यसपछि दोस्रो धेरै सेयर लगानी नेपाल नागरिक उड्डयन प्राधिकरणमा ६२ अर्ब रुपैयाँ छ । सरकारले गरेको सेयर लगानीमध्ये १० औ नम्बरमा नलगाड हाइड्रोपावर छ । यसमा सरकारले ४ अर्ब ९४ करोड रुपैयाँ गत आर्थिक वर्षससम्ममा सेयर लगानी गरेको छ ।