सफोला ब्राण्डको तेल बिक्री गर्ने द दयाल ट्रेडिङको व्यापार २६ प्रतिशतले घट्यो



काठमाडौं । फास्ट–मुभिङ कन्जुमर गुड्स (एफसीजी)को बिक्री वितरण गर्दै आएको द दयाल ट्रडिङ प्रालिको व्यापार २६ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २६ प्रतिशतले घटेको हो ।

सन् २०२२ मा १ अर्ब ९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा ८१ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ९६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

राजीव शाहको स्वामित्व रहेको कम्पनीले सन् २०२३ मा ७० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले पारासुट तेल, निहार तेल, सफोला गोल्ड तेल, लिभोन सिरम, सेटवेट जेल ब्राण्डको सामग्री बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सन् २०२३ मा गरेको व्यापारमध्ये पारासुट तेल, निहार तेल, लिभोन सिरम र सफोला तेलबाट उच्च व्यापार गरेको छ । कम्पनीले विभिन्न देशबाट वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले भारत र बंगलादेशबाट वस्तु आयात गरी बिक्री गर्दै आएको जनाएको छ ।

कम्पनीले अल्पकालीन र दीर्घकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९ करोड ७५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८० करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु