दुईवटा विमानमार्फत चीनले पोखरा ल्यायो भूकम्पपीडितलाई राहत, उपप्रधानमन्त्रीलाई हस्तान्तरण



गण्डकी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले भूकम्पपीडितका लागि प्रदान गरेको राहत सामग्री ग्रहण गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित आपत्कालीन सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन सरकारले प्रदान गरेका राहत सामग्री उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । चीनले झन्डै ३० करोड मूल्य बराबरको सामाग्री सहयोग गरेको हो ।

चीनले पीडितका लागि प्रदान गरेका उच्च गुणस्तरका ब्ल्याङ्केट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत आज पोखरा विमानस्थलमा ल्याइएको हो ।

सहयोग हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपाललाई सङ्कट पर्दा जहिले पनि चीनबाट सहयोग प्राप्त हुने गरेको बताए । नेपाल र चीनबीचको इतिहासदेखिको सम्बन्ध सार्वभौमसत्ता, स्वतन्त्रता र पारस्परिक हितमा आधारित रहेको उनले बताए ।

नेपालका लागि चिनियाँ राजदूत सोङले दुई देशबीचको सम्बन्ध मित्रताको रहेको जनाउँदै सङ्कटमा पनि एकअर्कालाई सहयोग गर्दै अघि बढेको बताए । केही दिनअघि गएको भूकम्पबाट भएको क्षतिप्रति उनले दुःख व्यक्त गरे ।

‘दुःखको बेला नेपाली जनता र नेपाल सरकारसँग चीन साथमा छ,’ उनले भने ।

चिनियाँ राष्ट्रपतिले नेपालमा भूकम्पबाट भएको क्षतिप्रति घटनालगत्तै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई समवेदना सन्देश पठाएर पीडित परिवारप्रति सहानुभूति प्रदान गरेको राजदूत सोङले जानकारी दिए ।

चीनद्वारा भूकम्पपीडितका लागि प्रदान गरिएका राहत सामग्री सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिए ।


क्लिकमान्डु