काठमाडौं विश्वविद्यालयले २८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी गर्ने
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ले नवीनतम सोच भएका परियोजनामा १ करोड ४० लाख रुपैयाँ लगानी गर्ने भएको छ । केयूले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकार सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीनतम सोचसहितका विभिन्न व्यवसायको प्रवर्धनका लागि लगानी गर्ने भएको हो ।
नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रमअन्तर्गत इनरजाइज नेपालले विनियोजन गरेको ४० लाख रुपैयाँमध्ये ऊर्जासँग सम्बन्धित नवीनतम सोचलाई (इन्नोभेटिभ आइडिया) मात्र व्यापारमा परिणत गर्न रकम उपलब्ध गराइनेछ ।
यस्तै १ करोड रुपैयाँ ऊर्जालगायत अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ । केयूसँग आबद्ध नेपाली विद्यार्थी र कर्मचारीले मात्र आवेदन दिन पाउनेछन् ।
केयूका अनुसार प्रत्येक नवीनतम सोचलाई ५ लाखका दरले २८ वटा नवीनतम सोचलाई परियोजनाबाट सहायता उपलब्ध गराइनेछ । कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले १ करोड र इनरजाइज नेपालले केयूलाई ४० लाख रुपैयाँ उपलब्ध गराएका छन् ।
मंगलबारदेखि लगानीका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । डिसेम्बर ३१ सम्म आवेदन दिन सकिनेछ । निवेदन दिएको दुई हप्ताभित्रै लगानीयोग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए ।
‘लगानीयोग्य प्रस्तावको मूल्यांकन दुई हप्ताभित्र गरी उनीहरुको सोचको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता उपलब्ध गराइनेछ,’ उनले भने ।
प्रस्तावित परियोजना लगानीयोग्य नभएमा उनीहरुलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए । केयूले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीन सदस्यीय समितिसमेत गठन गरेको छ ।
केयूअन्तर्गतको इन्कुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इन्नोभेसन सेन्टरले १० वटा विभिन्न नवीनतम आइडियामा लगानी गरिसकेका छन् । विशेष गरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरुले लगानी गरेका छन् ।
इनरजाइज नेपालका अनुसार यस आयोजनामार्फत दुई सयभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाइसकेका छन् ।
लगानी गरेको रकमबाट आएको नाफालाई फेरि नवीनतम सोचमा आधारित रहेर लगानी गर्ने गरी कार्यक्रम अघि बढेको प्रबन्धक थापाले जानकारी दिए ।
विद्यार्थीलगायतलाई उद्योग व्यवसायतर्फ आकर्षित गरी रोजगारी सिर्जना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले केयूले सन् २०१५ इन्कुबेसन सेन्टर स्थापना गरेको थियो । इनरजाइज नेपाल भने नर्वेजियन सरकारको सहयोगमा नर्वे दूतावासमार्फत अध्ययन, अनुसन्धान र नवीनतम सोचको परियोजनाका लागि सञ्चालित कार्यक्रम हो ।
इनरजाइज नेपालको केयू, हाइड्रो ल्याब, एनटीएनयू र सिन्टेफ साझेदार छन् भने यसको व्यवस्थापन केयूले गर्दै आएको छ । यो परियोजनाका लागि नर्वेजियन सरकारले ५१ मिलियन अर्थात् करिब ६५ करोड नेपाली रुपैयाँ सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।