डेलको ल्यापटप बेच्ने म्याक्स इन्टरनेशनलको व्यापार ५९ करोडले घट्यो, साढे २ अर्बको कारोबार



काठमाडौं । नेपालमा डेल ब्राण्डको ल्यापटप बिक्री वितरण गर्दै आएको म्याक्स इन्टरनेशनलको व्यापार ५९ करोड रुपैयाँले घटेको छ ।

कम्पनीले सन् २०२२ मा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, कोभिडपछि बजारमा कम्पनीले बेच्ने सामग्रीको मागमा कमी आउँदा सन् २०२३ मा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ ।

कम्पनीअनुसार सन् २०२२ मा कोरोनाले गर्दा बजारमा ल्यापटपको उच्च माग भएकाले कारोबार बढी भएको थियो । सन् २०२२ मा १.२४ प्रतिशतले नाफा कमाएको कम्पनीले सन् २०२३ मा ०.८३ प्रतिशत खुद नाफा कमाएको छ ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २००६ मा स्थापना भएको कम्पनीले आइटी क्षेत्रसँग सम्बन्धित डेल ल्यापटप र सर्भरको सेवा दिँदै आएको छ ।

कम्पनीले नेपालमा २५ भन्दा बढी ओइएम ब्राण्ड र विभिन्न रेन्जको एक हजारभन्दा बढी वस्तुको कारोबार गर्दै आएको छ । कम्पनीले डेल टेक्नोलोजी, डेल इएमसी, माइक्रोसफ्ट, लेनेभो, ओराकल, सिस्को र अन्य अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता गरेर नेपाली बजारमा आइटी क्षेत्रलाई आवश्यक प्रविधिको बिक्री वितरण गर्दै आएको छ ।

शाहिना हुसेनको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ७३ करोड रुपैयाँको रेटिङ गरेको छ ।


क्लिकमान्डु