निजीकरण गरिएका ४ उद्योगमा देखिएको समस्या अध्ययन गर्न सचिवको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल
काठमाडौं । निजीकरण समितिले विगतमा निजीकरण गरिएका ४ उद्योगमा देखिएको समस्याका विषयमा अध्ययन गर्न सचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा सोमबार बसेको निजीकरण समितिको बैठकले सचिव नेतृत्वको कार्यदललाई निजीकरण गरिएका उद्योगमा देखिएको समस्या समाधान गर्न सरकारले गर्नुपर्ने निर्णयका विषयमा सुझाव दिने जिम्मेवारी दिएको छ ।
भक्तपुर इँटा टायल कारखानाको लिज अवधि थप गर्ने सम्बन्धमा समितिले गर्नुपर्ने निर्णयका विषयमा अध्ययन विश्लेषण गरी रायसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीको नेतृत्वमा वातावरण विभागका महानिर्देशकसमेत रहेन गरी दुई सदस्यीय कार्यदल गठन गरिएको छ ।
नेपाल रोजिन एन्ड टर्पिनटाइनमा देखिएको समस्या र सरकारले लिनुपर्ने निर्णयका विषयमा सुझाव दिनसमेत भण्डारी नेतृत्वकै कार्यदललाई जिम्मेवारी दिइएको छ ।
यस्तै, बैठकले चिया विकास निगममा देखिएको समस्याका विषयमा अध्ययन गर्दै सरकारले लिनुपर्ने निर्णयका विषयमा रायसहितको सुझाव पेस गर्न अर्थ सचिव कृष्णहरि पुष्कर नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ ।
रघुपति जुट मिलको समस्याका विषयमा अध्ययन गर्न समितिले उद्योग सचिव मुकुन्द निरौलाको नेतृत्वमा कार्यदल गठन गरिएको छ । अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बरालका अनुसार कार्यदललाई समितिको आगामी बैठकमा रायसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
‘कतै भाडाको विवाद छ, कुनै उद्योगमा जग्गाको विवाद छ, कुनै उद्योगमा म्याद थप गर्ने वा नगर्ने भन्ने विवाद छ,’ उनले भने, ‘विगतदेखि थन्किएको समस्या सामाधान हुनुपर्छ भन्ने मन्त्रीज्यूको चाहनाअनुसार कार्यदल गठन भएको छ । कार्यदलले दिने सुझावका आधारमा निजीकरण समितिले निर्णय लिन्छ ।’