बैंकहरुको नाफा २८% ले घट्यो, सम्भावित जोखिम व्यवस्थाको रकममा दोब्बर वृद्धि



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद ब्याज आम्दानी बढ्न नसकेको उनको भनाइ छ ।

सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन)को रकममा उच्च वृद्धि भएको तथ्य प्रस्तुत गरे ।

गत आवको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आवकोअसोज मसान्तसम्म १६ अर्ब पुगेको उनको भनाइ छ ।

चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको केसीले बताए ।

‘डिपोजिट पनि धेरै बढ्न सकेन । १२० अर्बले बढ्नु धेरै होइन । निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भयो । खराब कर्जा ३.६१ प्रतिशत पुग्यो’ उनले भने, ‘ दक्षिण एसियाली देश हेर्दा ठिकै छ, डराउनु पर्ने अवस्था छैन । तैपनि सजग हुनै पर्छ । हामी सजग हुँदैछौं ।’

केसीले आर्थिक मन्दीको असर बैंकमा परेको बताए । दक्षिण एशियाली देशसँग तुलना गर्दा नेपाली बैंक ठिक अवस्थामा रहेको उनले बताए ।

नेपालमा भन्दा विदेशमा ब्याजदर बढी रहेको उनको भनाइ छ । नेपालमा पछिल्लो समय ब्याजदर घटेको छ । लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको उनले बताए । स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोही अनुसार बैंकहरुले काम गरेको उनको भनाइ छ ।

एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितकालाई ५ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाको जानकारी दिए । केसीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कात्तिक २३ र २४ गते संघले एसियन बैंकर्स कन्फरेन्स आयोजना गर्ने भएको छ । सो कार्यक्रममा बढ्दो ब्याजदर, डिजिटल ट्रान्सफरमेसनको बारेमा छलफल हुने उनले बताए । उक्त कार्यक्रममा विभिन्न देशका ७० जना सीईओको सहभागिता रहने उनले जानकारी दिए ।

हिमालयन बैंकका सीईओ अशोक शमशेर जबराले नेपालमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना हुन लागेको बताए ।
यस्तो कार्यक्रमबाट विश्वभरका बैंकिङ क्षेत्रमा कहाँ कस्तो अवस्था छ भन्ने जानकारी हुने र अनुभव आदानप्रदानमा सहयोग पुग्ने उनले बताए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकारसँग छलफल भइरहेको बताए ।


क्लिकमान्डु