कलकल ग्रुपले सेयर सदस्यलाई बाँड्यो १० प्रतिशत मुनाफा



भक्तपुर । आर्थिक संकट चुलिएका बेला पनि कटुञ्जेमा रहेको कलकल ग्रुप प्रालिले मुनाफा आर्जन गरेर आफ्ना सेयर सदस्यहरुलाई वितरण गरेको छ ।

शनिबार भक्तपुरमा आयोजित कलकलको छैटौं वार्षिक साधारणसभामा यसपालि दश प्रतिशत मुनाफा वितरण गर्ने घोषणा गरिएको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत समिरनारायण श्रेष्ठले साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यसपालि दश प्रतिशत मुनाफा सेयर सदस्यहरुलाई वितरण गर्ने जानकारी दिएका हुन् ।

उनले यस शीर्षकअन्तर्गत झन्डै २० लाख रुपैयाँ छुट्याएको जानकारी दिए । साथै, दराज अनलाइनबाट पनि अब उपभोक्ताले कलकलका सामान खरिद गर्न सक्ने श्रेष्ठले बताए ।

यसैबीच, कलकल ग्रुपले साधारणसभाका अवसरमा सेवास्वरुप मानव कल्याण समाजलाई एक लाख रुपैयाँसमेत प्रदान गरेको छ ।

समाजकी अध्यक्ष सुमी मानवले उक्त सहयोगप्रति कलकल ग्रुपलाई धन्यवाद दिएकी थिइन् । शुद्धता र कलकल एक–अर्काका पर्याय भएर नै संस्थाले सफलता चुम्दै गएको मानवको भनाइ थियो ।

साथै, अध्यक्ष मानवले कलकलका पूर्व प्रमुख कार्यकारी अधिकृत करुणसागर पराजुलीले पुर्‍याएको योगदान र सेवाभावको स्मरण गर्दै स्वर्गीय पराजुलीको आत्माको चिरशान्तिको समेत कामना गरेकी थिइन् ।

कार्यक्रममा कलकल ग्रुप प्रालिका अध्यक्ष रविराज कार्कीले थोपा–थोपाबाट समुद्र बन्छ भनेझैँ संस्थालाई माथि उठाउन सञ्चालकहरुको मात्र नभई सम्पूर्ण सेयर सदस्यहरुको पनि उत्तिकै योगदान रहनुपर्नेमा जोड दिए ।

कलकलबाट उत्पादित खाद्य सामग्री हाल बिगमार्ट र आर्मीका क्यान्टिनमा पनि बिक्री भइरहेको भन्दै अध्यक्ष कार्कीले भाटभटेनी र सेल्सबेरीमा पनि राख्न पहल भइरहेको जानकारी दिए ।

बजारमा सर्टरहरु बन्द भइरहेका बेला पनि कलकलका सामानहरुको माग उच्च हुनुको मुख्य कारण शुद्धता नै रहेको भन्दै शुद्धता कलकलको प्राण भएको अध्यक्ष कार्कीले स्पष्ट पारे ।

उनले कलकललाई प्रालिमा मात्र सीमित नगरी पवित्र मन भएका हजारौं व्यक्तिहरुलाई जोडेर पब्लिक लिमिटेडमा लैजाने भावी योजना रहेको समेत जानकारी दिए । त्यस्तै कलकलकै आउटलेटहरु पनि विस्तार गर्दै जाने र आफ्नै जग्गा खरिद गरेर संस्थाका आवश्यक पूर्वाधारहरु पनि त्यहीँ बनाउने भावी योजना रहेको समेत अध्यक्ष कार्कीले बताए ।

साधारणसभामा कलकल ग्रुपका संस्थापक अध्यक्ष सरिता शर्माले २०७४ सालमा हर्बल साबुन उत्पादनबाट शुरु भएको उद्योगले अहिले लोकल तोरीको तेलसहित विभिन्न ३० थरी सामान उत्पादन गरी बेचबिखन गरिरहेको जानकारी दिइन् ।

कलकलले उद्यमसँगै सिर्जनशीलता, अनुशासन र कलाका क्षेत्रलाई पनि प्राथमिकता दिएको जानकारी दिँदै संस्थापक अध्यक्ष शर्माले कलकलले ग्राहकलाई शुद्धताका नाममा कहिल्यै नढाँटेको र नढाँट्ने पनि स्पष्ट पारिन् ।

उद्योगको आधारशिला निर्माणका बेला आफूहरुले विभिन्न कठिनाइ झेल्नुपरे पनि अब भने कलकलले तीव्र गतिमा फड्को मार्ने जमर्को गरिरहेको संस्थापक अध्यक्ष शर्माको भनाइ छ ।

यसैगरी कलकल ग्रुपका स्वास्थ्य संवाहक कमला दाहालले कलकलले उत्पादन गरेको लोकल तोरीको तेल मिसावटरहित भएकै कारण माग बढ्दै गएको बताइन् ।

आफूले मासिक एक हजार लिटर तेल एक्लैले बेचिरहेको समेत उनले जानकारी दिइन् । स्वास्थ्य संवाहक दाहालले आफूहरु विश्व स्वास्थ्य संगठनले खोजेको जस्तो पूर्ण स्वस्थ मानव बनाउने अभियानमा अघि बढेको र तदनुरुप उत्प्रेरणात्मक कार्य गर्दै आइरहेको समेत उल्लेख गरिन् ।

हरेक शनिबार जुम वेबिनारमार्फत राति ८ देखि ९ बजेसम्म पूर्ण स्वास्थ्यसम्बन्धी कार्यक्रम आफूले निःशुल्क रुपमा सञ्चालन गर्दै आएको र त्यसमा जोडिएर भरपुर लाभ लिन पनि दाहालले सबैसँग आग्रह गरिन् ।

यसैगरी जुना बस्नेतले चिकित्सकहरुले बजारमा उपलब्ध सनफ्लावर र विभिन्न तेल अस्वस्थकर रहेको बताइरहँदा कलकल शुद्ध तोरीको तेल अबको विकल्प हुने बताएकी थिइन् ।

त्यस्तै, उत्तरा नेपालले आम नागरिक निरोगी रहून् भन्ने कलकलको ध्येय रहेको उल्लेख गर्दै कलकल शुद्ध तोरीको तेललगायत यहाँबाट उत्पादित विभिन्न सामान धेरैभन्दा धेरैका भन्सामा पुर्‍याउनुपर्नेमा जोड दिएकी थिइन् ।

संस्थाका अध्यात्म संवाहक सरस्वती भट्टराईले कलकलका उत्पादन शुद्ध रहेको स्पष्ट पार्दै शुद्धताका अगाडि कसैको केही नलाग्ने चर्चा गरिन् । उनले कार्यक्रमका सहभागीहरुलाई केही समय प्राणायाम र ध्यानसमेत गराएकी थिइन् ।

यसैगरी डा. सुशीला मल्लले स्वदेशमा उद्योगहरु नहुँदा भारतलगायत तेस्रो मुलुकबाट सामान आयात गर्नुपरिरहेको र रकम विदेशिँदा मन पोल्ने भन्दै कलकलजस्ता स्वदेशी उद्योगहरु फस्टाउनुपर्नेमा जोड दिइन् । उनले यो उद्योगले डाँडाकाँडा ढाकोस् भन्नेसमेत शुभकामना दिइन् ।

त्यस्तै, शर्मिला कार्कीले ‘आफ्ना लागि आफैं गर्छौं’ भन्ने भावना लिएर कलकल अगाडि बढेको बताउँदै कलकल शुद्ध तोरीको तेल गाईभैंसीको घ्यूसमान भएकाले उपभोक्तालाई बुझाउनुपर्ने अबको दायित्व रहेको बताइन् । यसैगरी सरोज थापा र रामप्रसाद ढकालले पनि कलकलबाट उत्पादित खाद्य सामग्री गुणस्तरीय रहेको बताएका थिए ।

गीत सङ्गीतसमेत प्रस्तुत गरिएको साधारणसभामा कलकलको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै पूर्व प्रमुख कार्यकारी अधिकृत रगिता बस्नेतलाई ‘कलकल विशेष सम्मान’ प्रदान गरिएको थियो ।

त्यस्तै, कलकलको श्रीवृद्धिमा योगदान गर्ने विभिन्न व्यक्ति र संवाहकहरुलाई पनि साधारणसभामा सम्मान गरिएको थियो । साथै, अतिथिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।


क्लिकमान्डु