अपर अरुण आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छः अर्थमन्त्री
संखुवासभा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अघि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् ।
‘यसको फाइदा सबैभन्दा धेरै स्थानीय जनताले पाउनुपर्छ । त्यसपछि जिल्लावासी र त्यसपछि मात्र देशले पाउँछ भन्ने मान्यताका आधारमा यो आयोजना अगाडि बढ्छ,’ अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा महतले भने ।
संखुवासभामा निर्माण हुन लागेको १ हजार ६१ मेगावाटको अपर अरुण आयोजना कार्यान्वयनको चरणमा पुगेको उनले बताए । ‘संखुवासभावासीका लागि यो महत्वपूर्ण आयोजना हो, अब यो आयोजना अगाडि बढ्छ । हरेक ठूलो आयोजना कार्यान्वयनका लागि पूर्वतयारी महत्वपूर्ण हुन्छ,’ उनले भने ।
‘अपर अरुण आयोजनाभन्दा तल अन्य दुईवटा आयोजना अगाडि बढिरहेको छ । हरेकको समय आउँछ, भोटेखोला र संखुवासभाको समय आएको छ । विश्व बैंकका प्रतिनिधि आहानालगायतको टिम यही आउनुभएको छ । यसले आयोजनामा लगानी गर्ने विश्व बैंकको चाहनालाई प्रतिविम्बित गर्छ,’ मन्त्री महतले भने ।
कोशी प्रदेशमा जलविद्युतले रुपान्तरणको ठूलो सम्भावना देखिएको महतले बताए । ‘यो आयोजना कार्यान्वयन गर्दा स्थानीयले रोजगारी पाउनेमात्र होइन, यहाँको जीवनस्तर माथि उकास्न सहयोग पुग्नेछ । स्थानीयको आर्थिक र सामाजिक सहभागिताका लागि सम्पूर्ण जिम्मा सरकारले लिन्छ,’ उनले भने ।
आयोजनाको निरीक्षण गर्न मन्त्री डा. महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली भोटखोला पुगेको थियो । प्राधिकरणको गौरवको आयोजनाका रूपमा अपर अरुणलाई निर्माण थालिएको हो ।
टोलीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंक निर्देशकलगायतको टोली आयोजनास्थल भोटखोला पुगेको थियो । अपर अरुण आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणले पाएको छ ।
आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जासमेत वितरण गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका ७८८ कित्तामध्ये ६९९ कित्ताकाट गरिसकेको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
जलविद्युत् आयोजनाको अनुमानित लागत दुई अर्ब २६ करोड रुपैयाँ छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजना निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्र सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ ।