रिगल फेरि जेल जाने, सर्वोच्चले उल्टाइदियो आममाफी
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने सरकारको निर्णय बदर गरेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय बदर गर्ने आदेश दिएको हो । सर्वोच्चले रिगललाई कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकूल देखिएको’ भनेको छ ।
जन्मकैदको सयाज पाएका ढकाललाई संविधान दिवसका दिन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय मिनाहा गर्दै आममाफी दिने निर्णय गरेका थिए ।
पति चेतन मानन्धरको जघन्य हत्यारालाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषद्को सिफारिस कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । अदालतले बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको हो ।
सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती असोज १७ देखि रिले अनसनमा थिइन् । दसैंका बेला स्थगित अनसन दसैंपछि उनले फेरि सुरु गरेकी थिइन् ।
नेपालगन्ज बजारमा खुँडा प्रहार गरेर २०७२ असार २८ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।