७३ लाख नेपालीसँग छ बैंक खाता, १७ लाख परिवारले लिएका छन् ऋण



काठमाडौं । कुल नेपालीमध्ये २५ प्रतिशतसँग बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको थप नतिजाअनुसार देशभरका २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये २५.५६ प्रतिशत व्यक्तिको बैंक खाता छ । बैंक खाता रहने जनसंख्या ७३ लाख ९ हजार १८१ छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ६१ प्रतिशत परिवारमा कम्तीमा एक जना सदस्यको बैंक खाता रहेको उक्त नतिजाले देखाएको छ । कुल परिवारमध्ये ४१ लाख २२ हजार ६९० परिवारसँग बैंक खाता रहेको हो ।

कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतसँग कम्तीमा एउटा बैंक खाता छ ।

त्यस्तै, कुनै पनि बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाबाट ऋण लिने परिवार भने २५.५९ प्रतिशत छन् । तथ्यांकअनुसार १७ लाख ४ हजार ५०९ परिवारले ऋण लिएका हुन् । तथ्यांकअनुसार सबैभन्दा धेरै ऋण लिनेहरु मधेस प्रदेशमा २८.८८ प्रतिशत छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत छन् ।


क्लिकमान्डु