सर्वसाधारणको सेयर ३० प्रतिशत नपुर्याएको भन्दै हिमालयन बैंकविरुद्ध अदालतमा मुद्दा
काठमाडौं । हिमालयन बैंकको विवाद फेरि अदालत पुगेको छ । बैंकको सर्वसाधारण सेयरधनीको अनुपात राष्ट्रबैंकको नियमअनुसार ३० प्रतिशत पुर्याएरमात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो ।
हिमालयन बैंकको कुल सेयर पुँजीमा सर्वसाधारण सेयरधनीको अनुपात हाल २७ प्रतिशतमात्रै छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण सेयर अनुपात कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत हुने गरी बैंकको पुँजी संरचनालाई व्यवस्थित गरेरमात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट सञ्चालक चयन गर्न भन्दै हालका सञ्चालकमध्येका एकले मुद्दा दायर गरेका हुन् ।
मुद्दामा बैंकका केही निहित स्वार्थ भएका सञ्चालकले सर्वसाधारण सेयरधनीका तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोपसमेत लगाइएको छ । यसअघि पनि हिमालयन बैंकको सञ्चालक विवाद पटक-पटक अदालत पुगेको थियो ।
हिमालयन बैंकमा स्थापना कालदेखि नै निजी क्षेत्रबाट ४ वटा समूह संस्थापक सेयरधनी मनोजबहादुर श्रेष्ठ, प्रेमप्रकाश खेतान, हिमालयशमशेर राणा र हविव बैंक अफ पाकिस्तानका प्रतिनिधि सलिम अम्लानी छन् । यी चार संस्थापक सेयरधनीबाहेक कर्मचारी सञ्चय कोष तथा सर्वसाधारण सेयरधनी छन् ।