फोनपेले एकैदिनमा गर्यो १० अर्बको सेटलमेन्ट
काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेले एकैदिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । असोज ३० गते एकैदिन १० अर्बभन्दा बढीको सेटलमेन्ट भएको कम्पनीले जनाएको छ ।
सन् २०१९ मा सञ्चालनमा आएको फोनपेले चार वर्षको छोटो अवधिमै सेवाग्राहीको मत जितेको हो । करिब सबै बैंकिङ तथा वित्तीय संस्था फोनपेको नेटवर्कमा आबद्ब छन् ।
नेपालमा पहिलो पटक क्यूआर प्रविधि ल्याउने क्रममा फोनपेले पोइन्ट अफ सेल (पीओएस) पूर्वाधारको तुलनामा लागत र परिचालन दुवै पक्षलाई ध्यानमा राख्दै व्यापारीमैत्री प्रणालीको विकास गरेको दाबी गरेको छ ।
‘फोनपे नेपालमा व्यक्तिदेखि व्यापारी भुक्तानी खण्डमा ९९ प्रतिशत र व्यक्तिदेखि व्यक्ति भुक्तानी खण्डमा ६२ प्रतिशतको बजार हिस्सा लिएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवास कुमारले नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने सामूहिक प्रयास फलदायी रहेको बताएका छन् ।