घट्दो बैंक ब्याजको प्रभाव सेयर बजारमा, ४३ अंकले उकालो लाग्यो नेप्से सूचक




काठमाडौं । कात्तिक महिनामा घटेको बैंक ब्याजको प्रभाव सेयर बजारमा देखिएको छ । कात्तिकमा लागि अधिकांश बैंकले ब्याजदर घटाएका छन् ।

बैंकले ब्याजदर घटाएपछि सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ४३.२७ अंकले बढेर परिसूचक १९०७.८९ बिन्दुमा रोकिएको छ ।

२८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक २९.२६, विकास बैंक ९८.१८, वित्त २३.९१, होटल १०२.५५, जलविद्युत ४९.९७, जीवन बीमा २२१.६१, उत्पादन तथा प्रशोधन ६९.०९, माइक्रोफाइनान्स ७८.५२, निर्जीबन बीमा २७४.८४ अंकले बढेको छ ।

कारोबारमा २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स रहेको छ । कम्पनीको ४ करोड ४६ लाख ४ हजार ९३५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा कुमारी बैंकको संस्थापक सेयर र आइएमई लाइफ रहेको छ ।


क्लिकमान्डु