एनआईसी एशिया बैंकका सञ्चालकको बैठक भत्ता ७१ लाख बढी
काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालकले गत आर्थिक वर्षमा बैठक भत्ता वापत ७१ लाख ८२ हजार रकम बुझेका छन् ।
गत आवमा बैंकमा ६८ वटा सञ्चालक समितिको बैठक बसेको छ । बैंकले गत आवमा सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता २२ हजार र सञ्चालक समितिका सदस्यलाई १८ हजार रुपैयाँ दिने गरेको छ ।
गत पुस २९ गते सम्पन्न भएको २५औँ वार्षिक साधारणसभाले सञ्चालकको भत्ता बढाउने निर्णय गरेको थियो । त्यसअघि सञ्चालक समितिको अध्यक्षलाई २० हजार र सञ्चालकलाई १६ हजार रुपैयाँ दिने गरेको थियो ।
हाल बैंकको सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाल रहेका छन् भने सञ्चालकमा त्रिलोक चन्द्र अग्रवाल, रामचन्द्र संघई, आदित्य कुमार अग्रवाल, गणेश मान श्रेष्ठ, विजया स्वार र केशवप्रसाद लम्साल रहेका छन् ।
बैंकबाट अध्यक्ष तुलसीराम अग्रवालले १३ लाख ८८ हजार, त्रिलोक चन्द अग्रवालले ८ लाख ५४ हजार, रामचन्द्र संघईले ६ लाख ९२ हजार निकुञ्ज अग्रवालले १ लाख ९२ हजार, विजया स्वारले १० लाख ६८ हजार, गणेश मान श्रेष्ठले १० लाख ५६ हजार, आदित्य कुमार अग्रवालले १० लाख ७२ हजार, केशप्रसाद लम्सालले ८ लाख ६० हजार रुपैयाँ भत्ता लिएको बैंकले जनाएको छ ।