सहकारीमा एकल निर्णय हाबी भयो, सदस्यलाई व्यवास्ता गर्दा अहिलेको समस्या आयोः: थामसुहाङ्ग




काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थामसुहाङ्गले ठूला संस्थाहरुमा एकल निर्णय हाबी भएको र सदस्यलाई व्यवास्ता गरी आफू अनुकुल लगानी गर्दा समस्या आएको बताएकी छिन् ।

देशभर कार्यक्षेत्र लिई सदस्यबाट संकलित पुँजीलाई घर जग्गा र नातेदारहरुका नाममा कम्पनी खडा गरी लगानी गर्दा अहिले समस्या आएको उनको दाबी छ । वित्तीय संकटका बिचमा समुदाय र सदस्यमा केन्द्रित संस्थाहरुमा तरलता वृद्धि भएको उनको तर्क छ ।

सुशासन र स्वनियमनमा रहेर सञ्चालनमा भएका संस्थाहरुले सदस्यको विश्वास जितेकाले वित्तीय संकटका बिचमा पनि तरलता वृद्धि भएको उनको भनाइ छ ।

राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा उनले निश्चित व्यक्तिको पकडमा रहेका संस्थाहरुमा समस्या आएको बताइन् ।

सहकारीले लाभांश वितरणमा अस्वस्थ प्रतिस्प्रर्धा गर्ने भन्दा पनि सहकारी ऐनले व्यवस्था गरेका शिक्षा, सामाजिक र संरक्षित पुँजी फिर्ता कोषलाई प्रयोग गरेर बढी सेवा दिनुपर्नेमा उनको जोड छ । संस्थाहरुले कोषहरुलाई प्रयोग नगरेको भन्दै उनले कोषको रकम उद्देश्य अनुसार प्रयोग गर्न सुझाइन । उनले थपिन, ‘संस्थाहरुले कोषलाई उद्दश्यले अनुसार खर्च गरेका छैनन् र आर्थिक वर्षको अन्त्यमा जगेडा कोषमा सार्ने परिपाटी छ, यो गलत हो ।

सहकारी निश्चित उद्देश्य प्राप्तिका लागि खोलिने संस्था भएकाले सोहि अनुसार काम गर्नपर्नेमा उनको जिकिर छ । सहकारी संगठित संरचनामा सञ्चालन हुने र सञ्चालक समिति, लेखा समिति तथा व्यवस्थापन पक्ष रहन्छ । एकलेअर्को संरचनालाई नियन्त्रण गर्न सके सहकारीमा समस्या नै नआउने उनको दाबी छ ।

संरचनामा काम गर्न एक अर्काबिच हार्दिकताको सम्बन्ध स्थापित गर्न सके सहकारी क्षेत्रले उचाई लिनेछ । सहकारी संस्थाहरुले नियमनकारी निकायहरुले जारी गरेको ऐन नियम र निर्दशनका साथै संघ महासंघहरुले जारी निर्देशन र मापदण्डलाई समेत परिपालना गरे समस्या नआउने उनको बुझाइ छ ।

अहिलेपनि सहकारीको संख्या वृद्धि भैरहेको र स्थानिसय तहले सहकारी दर्ता गरीरहेको भन्दै त्यसले सहकारीमा गुणात्मकता नआउने प्रष्ट पारिन । महासंघले भिजन २०३० तय गरेको र हाल रहेका ३१ हजार सहकारीलाई एकिकरण मार्फत १० हजारमा ल्याउने योजना बनाएको उनले जानकारी दिईन ।

प्रारम्भिक सहकारी संस्थाले संघलाई र संघहरुले महासंघलाई कार्य प्रतिवेदन बुझाउने परिपाटी विकास गर्न सके सहकारीमा अहिलेको जस्तो समस्या नआउने उनको बुझाई छ । प्रारम्भिक संस्थाले माथिल्लो निकायमा अनिर्वाय आवद्धताको व्यवस्था हुन सके संस्थाहरु कुन अवस्थामा चलेका छन भन्ने कुराको जानकारी लिन सजिलो हुने उनले बताईन ।

वाह्य लेखा परिक्षकले औल्याएको विषय कार्यान्वयन नहुनु र सदस्य माझमा नलैजानु नै सहकारीको मूख्य समस्या भएको बताईन । प्रविधिक प्रतिवेदनमा उठाईएको कुराको कार्यान्वयको सुनिश्चितता नभएसम्म सहकारीमा समस्या रहिरहने उनले बताईन ।

साधारण सभामा ५१ प्रतिशतको उपस्थिती प्रावधान छ । तर त्यो मात्रै प्रभावकारी नभएको भन्दै उनले १० प्रतिशत सदस्यले व्यापक छलफल गर्न सके सञ्चालकको मनोमानी रोकिने उनको दाबी छ । नियामक निकायले अनुगमन गरी संस्था सुरक्षित हुन्छ भन्नेमा आफू आशवादी नरहेको भन्दै संस्थाहरुलाई स्वनियमनमा रहन आग्रह गरिन ।


क्लिकमान्डु