सरकारलाई रवि लामिछानेको प्रश्न: नेपाली भूमिमा छिमेकी प्रधानमन्त्री मोदी आउँदा स्वागत गर्नु पर्दैन ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जी भ्रमण गरेकोबारे सरकारको जवाफ माग गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भुमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताए ।

उनले छिमेकी मुलुकका प्रमुख नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गरे । ‘हाम्रो मित्रराष्ट्र छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भू–भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ,’ उनले भने, ‘यत्रो ठूलो भ्रमण हाम्रो देशमा यो कुटी, गुन्जी अहिले सभामुख आसिन भएका चेयरको अगाडीको डेस्कको चुच्चे नक्सा भित्र नै पर्छ । हामीले नै पास गरेको, यो सदनले पास गरेको यो चुच्चे नक्शाभित्र हाम्रो भू-भाग पर्छ । त्यसकारणले त्यस भुभागभित्र गुन्जी पनि पर्छ ।’

छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्रीले भ्रमण गरेको समाचार आयो । यसको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी हुँदा आफूहरु समेत त्यहाँ जान नपाउने उनले बताए ।

‘म सरकारलाई र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भुमिमा, आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमण बारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन ? यत्रो ठूलो भ्रमणमा मित्र राष्ट्र, छिमेकी राष्ट्रको त्यति ठुलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भुमिमा आउँदाखेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम हुनुपर्दैन ? त्यसका औपचारिकताहरु हुँदैनन् ? त्यसकारणले यस बारेमा सम्मानित सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनुपर्‍यो ।’


क्लिकमान्डु