
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ललितपुरस्थित लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाममा रहेको जग्गा लिलाम बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारले २०८० फागुन २९ गते उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति र दायित्व व्यवस्थापनका लागि यो कदम चालिएको हो ।
समितिले जारी गरेको सूचना अनुसार, सहकारी संस्थाका ऋणी सदस्य, सञ्चालक र सम्बन्धित व्यक्तिहरूले पटक-पटकको सूचनाका बाबजुद पनि साँवा, ब्याज र जरिवाना बापतको दायित्व फरफारक नगरेकाले धितोमा रहेको जग्गा लिलामी गर्न लागिएको हो । लिलामी हुन लागेको जग्गा ललितपुर जिल्लाको झरुवारासी-५ख (साविक) मा पर्ने कित्ता नं. ३९१ को ०-१४-३-० (करिब १५ आना) क्षेत्रफलको रहेको छ ।
उक्त जग्गाको न्यूनतम प्रति आना मूल्य ४ लाख रुपैयाँ कायम गरिएको छ भने कुल न्यूनतम मूल्य ५९ लाख रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्यभन्दा कम नहुने गरी इच्छुक व्यक्ति, संस्था वा सहकारीका बचतकर्ताहरूले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।
इच्छुक बोलपत्रदाताले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र समिति समक्ष आवेदन दिनुपर्नेछ । लिलामी सम्बन्धी सर्तहरू र अन्य विस्तृत जानकारीका लागि समितिको आधिकारिक वेबसाइट www.coopmc.gov.np मा हेर्न सकिने समितिले जनाएको छ । यो प्रक्रिया सहकारी ऐन, २०७४ को दफा १०६ को उपदफा (ञ) र नियमावली २०७५ को प्रावधान अनुसार अगाडि बढाइएको समितिले जनाएको छ ।






प्रतिक्रिया