कोरियन मन्त्रीलाई डा. महतले भने, ‘एकाधिकारले भाडा महँगो भयो, नेपाल एयरलाई पनि उडान गर्न दिनुपर्याे’
मोरोक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गरेका छन् ।
कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनु पर्ने मन्त्री महतले बताएका हुन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुगेका मन्त्री महतले कोरियाली अर्थमन्त्रीसँग साइडलाइनमा वार्ता गरेका थिए ।
‘कोरियाबाट एउटा मात्रै वायूसेवा कम्पनीले उडान गर्दा कोरिया र नेपालको हवाई भाडा महँगो छ । एउटै कम्पनीले एकाधिकारले हवाई भाडा महँगो हुँदा कोरिया रहेका नेपालीहरुले अन्य देश भएर आउनु परेको छ,’ मन्त्री महतले भने,‘नेपाल वायुसेवा निगमले नयाँ विमान खरिद गरेका छ । नेपाली कम्पनीलाई पनि सिधा उडान गर्न दियो भने प्रतिस्पर्धाले हवाई भाडा घट्ने थियो । त्यसले नेपाली नागरिकका साथैं नेपाल घुम्न आउने कोरियन नागरिकलाई समेत सहज हुने थियो ।’
नेपाल वायु सेवा निगमलाई कोरियामा उडान अनुमति दिन अर्थमन्त्री महतको आग्रहपछी कोरियाका उपप्रधान तथा अर्थ मन्त्रीले कोरियाली उड्डन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान गर्न दिनु पर्ने विषय पुर्याउने बचन दिएका थिए । ‘तपाईंले भनेको विषयमा म सकारात्मक छु,’ अर्थमन्त्री चु क्यूङले भने,‘कोरियाली सम्बन्धी निकायमा म यो विषय पुर्याउने छु ।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतिले लामो समयदेखी कोरियन एयरको भाडादर महँगो भएको विषय उठाउँदै आएका छन् । नेपाल वायु सेवा निगमले सन् २०१८ मा कोरियाको राजधानी सोलमा सिधा उडान अनुमति माग्दै निवेदन दिए पनि कोरियाको नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छैन्।