व्यापारीलाई १ करोड ३ लाख जरिबाना, २ करोड रुपैयाँको खाद्य वस्तु नष्ट



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्षको अढाइ महिनाको अवधिमा १ हजार ४ सय ८० व्यापारिक प्रतिष्ठानमा अनुगमन गरेको छ ।

विभागले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १४ प्रतिशत बढी अनुगमन गरेको हो । विभागका सूचना अधिकारी आनन्दराज पोखरेलकाअनुसार गत साउन १ गतेदेखि असोज १६ गतेको अवधिमा यो संख्यामा विभागको टोलीले अनुगमन गरेको हो ।

दर्ता प्रमाणपत्र नभएको, खरिद र बिक्री बिल बिजक नभएको, म्याद नाघेको, रिलेवलिङ गरेको र अनुगमनमा सहयोग नगरेको अभियोगमा यसमध्ये ४ सय ४२ व्यापारिक प्रतिष्ठानलाई १ करोड ३ लाख ७० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अघिल्लो वर्षको यहि अवधिको तुलनामा ५५ प्रतिशत बढी जरिवाना गरिएको हो । अघिल्लो वर्ष २ सय २४ व्यापारिक प्रतिष्ठानबाट ४० लाख ६६ हजार रुपैयाँ जरिवाना गरिएको थियो । विभागले न्यूनतम २ हजारदेखि एउटै प्रतिष्ठानबाट अधिकतम ३ लाख रुपैयाँसम्म जरिवाना गरेको छ ।

यस्तै चालु आर्थिक वर्षको अढाइ महिनाको अवधिमा विभागले ३५ व्यापारिक प्रतिष्ठानबाट म्याद नाघेको र लेभल नभएको २ करोडभन्दा बढी रुपैयाँबराबरको विभिन्न प्रकारका खाद्य तथा पेयजन्य पदार्थ नष्ट गरेको छ ।

विभागकाअनुसार यो महिनामा हालसम्म रिलेवलिङका ३ वटा घटना भेटिएको छ । म्याद नाघेको र गुणस्तर बिग्रिसकेको खाद्य वस्तु तथा पेयजन्य पदार्थको पुरानो प्याकेजिङ लेवल परिवर्तन गरि व्यापारिक प्रतिष्ठानले नयाँ लेवल राखेर बिक्री गरेको पाइएको छ । यस्ता ३ वटै रिलेवलिङ गर्ने व्यापारिक प्रतिष्ठानबाट जनही २ लाखदेखि ३ लाखसम्मको जरिवाना गराइएको छ ।

सूचना अधिकारी पोखरेलका अनुसार अनुगमनको क्रममा याक ब्रुअरी कम्पनीले उत्पादन गरेको बाह्रसिङ्गे ब्राण्डसहित सोही कम्पनीबाट उत्पादित अन्य ब्राण्डको म्याद नाघेको ९७ लाख ५६ हजार १ सय ६३ रुपैयाँ बराबरको ३३ हजार ३ सय ३९ वटा बोतल बीयरसमेत नष्ट गरिएको विभागले जनाएको छ । यसअघि २०७९ फागुनमा पनि विभागकै टोलीले सोही कम्पनीबाट उत्पादित म्याद नाघेको करिब ६० लाख रुपैयाँको २ हजार १ सय कार्टुन बियर बरामद गरी नष्ट गरेको थियो ।

संयुक्त अनुगमन टोलीबाट ३५ वटा अनुगमन

विभागले चाडपर्व लक्षित छुट्टै अनुगमन टोलीसमेत परिचालन गरेको छ । वातावरण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधी व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, जिल्ला प्रशासन कार्यालयको सहयोगमा सुरु भएको संयुक्त अनुगमन टोलीले दैनिक ३५ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिरहेको विभागका सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

विभागले विभिन्न सरोकारवाला निकायसँग सहकार्य गरि देशभरमा गरी मंगलबार २६ वटा अनुगमन गरेको छ । खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका व्यापारिक प्रतिष्ठानमा गरिएको अनुगमनको क्रममा कैफियत भेटिएपछि १ लाख ३५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।


क्लिकमान्डु