अछामको रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस, तीन महिना बस्ने
अछाम । अछामको पर्यटकीय स्थल रामारोशन ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूहअन्तर्गत यहाँ आएका हुन् । ती पर्यटक तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका छन् ।
विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सांस्कृतिक कार्यक्रममा ती पर्यटक पनि सहभागी भए । रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले जानकारी दिए । पर्यटकको आगमनले रामारोशनको चर्चा बढ्न थालेको उनको भनाइ छ ।
पर्यटकलाई रामरोशन घुम्न विभिन्न सर्तसहित अनुमति दिने गरिएको उनले बताए । रामारोशन आएका विदेशी पर्यटक खुला चौरमा टेन्ट टाँगेर बसेका छन् ।
रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किंम्बदन्ती छ । कतिपयले यो क्षेत्रमा शिवपार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन् ।
रामारोशन गाउँपालिका-६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ वटा ताल र अठार खण्डले यहाँका १८ वटा चौरलाई जनाउँछ ।
रामारोशनमा थुप्रै समथर फाँट छन् । झकमक्क फुल्ने फूल यहाँका आकर्षण हुन् । पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ ।