गोयल ग्रुपको सप्तकोशी सिमेन्टको व्यापारमा वृद्धि, २ अर्ब ३५ करोडको कारोबार



काठमाडौं । २०२२ मा केही कम भएको सप्तकोशी सिमेन्ट प्रालिको व्यापार पुनः लयमा फर्किएको छ । सप्तकोशी सिमेन्ट प्रालिले २०२१ मा २ अर्ब १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

२०२२ मा भने २०२१ को तुलनामा व्यापारमा केही गिरावट भएर १ अर्ब ७९ करोड १० लाख रुपैयाँको व्यापार कम्पनीले गरेको थियो ।

२०२३ मा भने कम्पनीको व्यापारमा ३१.२३ प्रतिशतले वृद्धि भएको छ । सप्तकोशीले २०२३ मा २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीको व्यापारमा सुधार आए पनि मार्जिन भने कम भएको छ ।

२०२१ यता सप्तकोशीको मार्जिनमा निरन्तर कमी आएको छ । २०२१ मा ७.७९ प्रतिशत रहेको कम्पनीको मार्जिन २०२२ मा ६.६८ प्रतिशत भएको थियो । २०२३ मा पनि कम्पनीको मार्जिनमा गिरावट आएर ४.०८ प्रतिशत भएको छ ।

सन् २९९६ मा सुरु भएको सप्तकोशी सिमेन्ट प्रालि यसअघि नेसनल सिमेन्ट प्रालिको नामबाट सञ्चालनमा थियो । तीन वर्षअघि नाम परिवर्तन भएको कम्पनीको उत्पादन कारखाना विराटनगरमा रहेको छ, जहाँबाट ६ सय टन प्रतिदिन क्षमताका प्लान्टहरु रहेका छन् ।

गोयल ग्रुपको लगानी रहेको यो कम्पनीका अध्यक्ष आशिष गोयल रहेका छन् ।

हाल कम्पनीले १ अर्ब १२ करोड रुपैयाँको कर्जा सुविधा लिनका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी केयर रेटिंग नेपालले कम्पनीलाई २० करोड ९४ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र ९१ करोड ५ लाख रुपैयााको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिंग दिएको छ ।


क्लिकमान्डु