पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचारी ठहर



काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्य यमुना भट्टराई र खुसीप्रसाद थारुको संयुक्त इजलासले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा श्रेष्ठलाई दोषी ठहर गरेको हो ।

उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो । शिक्षकबाट सार्वजनिक सेवामा प्रवेश गरेका उनी निजामती सेवाको शाखा अधिकृत, उपसचिव, सहसचिव र सचिव भएर अवकाश भएका थिए ।

पूर्वमन्त्री श्रेष्ठले २०७० सालमा तत्कालीन प्रधानन्यायाधीश खिलाराज रेग्मीको नेतृत्वमा गठित चुनावी सरकारमा पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए । अख्तियारले श्रेष्ठविरुद्ध २०७८ फागुन १५ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


क्लिकमान्डु