आशीर्वाद दाल मिल्सको व्यापार घट्यो



काठमाडौं । आशीर्वाद दाल मिल्स प्रालिको २०२३ को व्यापार घटेको छ । कम्पनीको २०२३ को व्यापारमा विगतको तुलनामा २३ प्रतिशतको कमी आएको हो ।

कम्पनीले २०२३ मा ८९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । यसअघि २०२२ मा कम्पनीले १ अर्ब १५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, २०२१ मा ८२ करोड ८० लाख रुपैयाँको व्यापार आशीर्वाद दाल मिल्सले गरेको थियो ।
सन् २०१६ मा दालहरुसँग सम्बन्धित उत्पादन गर्नका लागि खुलेको यो कम्पनीको कारखाना पर्सामा रहेको छ ।

कम्पनीले आफ्नो ब्राण्ड ‘जगत’ नाममा उत्पादन भएका दालका प्रोडक्ट्सहरुलाई बिक्री गर्ने गरेको छ । कम्पनीसँग मुंगको दाल र मासको दालको प्रोसेसिङ गर्ने ३५ मेट्रिक टन प्रति दिन क्षमताको कारखाना छ भने चना, मुसुर र रहर दालको प्रोसेसिङ गर्ने ४० मेट्रिक टन प्रतिदिन क्षमताको कारखाना रहेको छ ।

आशीर्वाद दाल मिल्स शिभम् अर्गनाइजेसनसँग सम्बन्धित रहेको कम्पनी हो । उक्त कम्पनीले चामल, गेडागुडीजस्ता खाद्य सामग्रीको प्रोसेसिङदेखि विभिन्न कृषि जन्य सामग्रीहरुको कारोबार गर्दै आएको छ ।

कम्पनीले हाल ७४ करोड ७० लाख रुपैयाँको कर्जा सुविधा लिनका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई ११ करोड २० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र ६३ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु