भन्सार विभागले उठायो गत वर्षभन्दा ५३ करोड बढी राजस्व, लक्ष्यभन्दा २४ प्रतिशत कम



काठमाडौं । भन्सार विभागले गत वर्षभन्दा ५३ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । साउनमा गत वर्षभन्दा ४७ करोड रुपैयाँ बढी राजस्व उठाएको विभागले भदौमा भने गत वर्षभन्दा ६ अर्ब रुपैयाँ मात्रै बढी राजस्व उठाउन सकेको हो ।

साउनमा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन गर्न सकेको विभागले भदौमा लक्ष्यको ७१ प्रतिशत मात्रै राजस्व उठाउन सकेको हो ।

गत वर्षभन्दा केही बढी राजस्व उठाउँदा समेत विभागले भदौ मसान्तसम्म लक्ष्यभन्दा २४.५ प्रतिशत कम राजस्व उठाउन सकेको छ ।

विभागले भदौसम्ममा ८९ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६७ अर्ब ९५ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ । जुन लक्ष्यको ७५.५ प्रतिशत हो ।

गत वर्ष भदौसम्ममा भन्सार विभागले ९० अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६७ अर्ब ४२ करोड रुपैयाँमात्रै संकलन गर्न सकेको थियो ।

अघिल्लो वर्ष (आर्थिक वर्ष २०७८/७९) मा आयात उच्च हुँदा भन्सार विभागले ८७ अर्ब ३४ करोड रुपैयाँ राजस्व उठाएको थियो।

भदौमा मात्रै विभागले ४९ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३५ अर्ब २९ करोड रुपैयाँ मात्रै राजस्व उठाउन सकेको छ । जुन लक्ष्यको ७१.४५ प्रतिशत मात्रै हो । भदौमा विभागले गत वर्ष भन्दा ६ करोड रुपैयाँ बढी राजस्व उठाएको थियो ।

गत वर्ष भदौमा विभागले ५० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको ३५ अर्ब २३ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । जुन लक्ष्यको ७० प्रतिशत मात्रै हो ।

जबकी अघिल्लो वर्षको भदौमा विभागले ४६ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भन्सार विभागका सूचना अधिकारी पुण्यप्रसाद खड्का बजारमा आर्थिक कारोबार बढ्न नसक्दा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको बताउँछन् ।

‘धेरै राजस्व उठ्ने गाडीको आयात बढ्न सकेको छैन्,’ खड्काले भने, ‘आयात बढ्न नसक्दासम्म राजस्व बढ्न सक्दैन् ।’
विभागले साउनमा पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको थिएन ।

साउनमा विभागले ३९ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब ६६ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।

विभागले गत वर्ष साउनमा पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको थिएन ।

गत वर्ष साउनमा ३९ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा विभागले ३२ अर्ब १९ करोड रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो ।


क्लिकमान्डु