सानिमा ग्रुपको अकामा होटलको व्यापारमा ७५ प्रतिशतको वृद्धि, मार्जिन पनि बढ्यो



काठमाडौं । सानिमा ग्रुपको चारतारे आकामा होटलको व्यापारमा ७५ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०२१/२२ को तुलनामा २०२२/२३ मा ७५ प्रतिशतले व्यापार बढाएको हो ।

आव २०२१/२२ मा १० करोडको व्यापार गरेको कम्पनीले २०२२/२३ मा १७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीको कुल व्यापारमध्ये ३६ प्रतिशत कोठाहरुबाट भएको छ भने ६१ प्रतिशत होटलमा हुने विभिन्न बैठक, सम्मेलन, प्रदर्शनीजस्ता कार्यक्रमबाट भएको छ । आव २०२१/२२ मा ११ प्रतिशत रहेको होटलको अकुपेन्सी रेट २०२२/२३ मा वृद्धि भएर ३० प्रतिशत पुगेको छ ।

कम्पनीको मार्जिनमा पनि आव २०२१/२२ को तुलनामा बढेको छ । २०२१/२२ मा कम्पनीको मार्जिन १०.३३ प्रतिशत थियो भने २०२२/२३ मा मार्जिन पनि वृद्धि भएर ३९.५३ प्रतिशत पुगेको छ ।

आव २०२०/२१ मा अकामा होटलले २ करोडको मात्रै व्यापार गरेको थियो भने यसको मार्जिन पनि नेगेटिभमा थियो ।

अकामा होटल प्रालि सन् २०१४ मा खुलेको कम्पनी हो, जुन २०२२ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीअन्तर्गत सोही नाममा काठमाडौंको धुम्रबाराहीमा चार तारे होटल सञ्चालनमा छ ।

१.१३ एकड जमिनमा फैलिएको होटल संरचना रहेको अकामामा १०८ कोठा छन् । अकामामा सानिमा ग्रुफ अफ कम्पनीको लगानी छ । कम्पनीको पाँच सदस्यीय बोर्डको अध्यक्षता भने विनयकुमार श्रेष्ठले गरेका छन् ।

हाल कम्पनीले १ अर्ब ३४ करोड ९ लाख रुपैयाँको कर्जा लिनका लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब २९ करोड ५९ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि रेटिङ एजेन्सी केयर रेटिङ नेपालबाट डबल बि माइनस रेटिङ पाएको छ भने ४ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिङ पाएको छ ।


क्लिकमान्डु