माण्डु हाइड्रोपावरको आईपीओ १ लाख २० हजार ५३२ जनाले हात पारे
काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । आईपीओमा आवेदन दिएकामध्ये १ लाख २० हजार ५३२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओमा १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकोमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको छ । ८ लाख ७२ हजार ८३७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले भदौ १० देखि १३ गतेसम्म १२ लाख ५ हजार ३२० कित्ता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गरेको थियो । कम्पनीले अंकति मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरले आईपीओ निष्कासन गरेको हो ।
आईपीओको नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, माण्डु हाइड्रोपावरको वेबसाइट, मेरोसेयर र सीडीएससीले आईपीओको नतिजा हेर्न बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।