बालेन प्रकरणमा विवादित भएपछि ‘रुटिन अफ नेपाल बन्द’ बन्द गर्ने पौडेलको घोषणा



काठमाडौं । सामाजिक सञ्जालमार्फत चर्चामा आएको सञ्चार माध्यम रुटिन अफ नेपाल बन्द (आरओएनबी)लाई बन्द गर्ने घोषणा भएको छ । आरओएनबीका मालिक भिक्टर पौडेलले सामाजिक सञ्जालमार्फत बन्द गरेको घोषणा गरेका छन् ।

पौडेलले सामाजिक सञ्जालमा फेसबुक पेजलाई अनपब्लिस (अप्रकाशित) गरेको स्क्रिनसट राख्दै यस्तो जानकारी दिएका छन् । उनी लेख्छन्, ‘अब आक्रमण गर्नु पर्दैन । स्वार्थले खोलेको थिएन । त्यहि भएर बाल छैन । बाँकी कुरा पछि गरौंला ।’

सँगै उनले आफू अब स्वतन्त्र भएको र आफूलाई एक्लै छाडन पनि भनेका छन् ।

आरओएनबी सामाजिक सञ्जालमा नेपाल बन्दका सूचनाहरु प्रकाशित गर्दा गर्दै निकै चर्चित भएको पेज थियो । पछि यसलाई सूचना तथा सञ्चार विभागमा दर्ता समेत गराएर पौडेलले सञ्चारमाध्यमकै रुपमा सञ्चालन गरिरहेका थिए । धेरै पटक आरओएनबी विवादमा पनि परेको थियो ।

पछिल्लो पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को व्यक्तिगत मिडियाको रुपमा काम गरेको आरोप आरओएनबीलाई लागेको थियो । उनको बचाउ गर्ने तथा उनका गल्तीहरुको ढाकछेप गर्ने गरेको भन्दै आरओएनबीको निकै आलोचना भएको थियो । हालै कोटेश्वरमा आफ्नी श्रीमती सवार गाडीलाई प्रहरीले रोकेको विषयमा बालेनले सामाजिक सञ्जालमा राखेको स्टेटस र आरओएनबीले त्यसलाई ढाकछोप गर्न उनको सन्तान जन्मिएको विषयमा प्रकाशित गरेको भ्रामक समाचारको विषयले पौडेलको कम्पनी विवादमा तानिएको थियो ।

आरओएनबीको फेसबुक पेज खोज्दा नभेटिएपनि वेबसाइट भने लाइभ नै रहेको छ । पौडेलले फेसबुक पेज मात्रै बन्द गरिएको हो वा सम्पूर्ण कम्पनीलाई नै बन्द गर्न लागिएको हो खुलाएका छैनन ।


रवि धिताल