राउन्ड टेबल नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अग्रवाल



काठमाडौं । राउन्ड टेबल नेपालको २३औं वार्षिक साधारणसभा काठमाडौंस्थित हायात होटलमा भदौ ९ गते सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल अग्रवाल तथा सम्पादकमा पंकज झुनझुनवाला निर्वाचित भएका छन् । त्यस्तै निर्वतमान अध्यक्ष राहुल अग्रवाल रहेका छन् ।

राउन्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था हो, जसको मुख्य उदेश्य एडप्ट, एडप, इम्प्रुभ हो ।  संघले आफ्नो उद्देश्य पूरा गर्नका लागि पहिले समाजमा रहेका समस्याको पहिचान गरी एडप्ट गर्छ । एडप्ट गरेका कार्यहरुलाई स्थानीय विविधतालाई आत्मसात् गर्दै एडप गर्छ र त्यसलाई निरन्तर इम्प्रुभ गर्न प्रयासरत रहन्छ ।

राउन्ड टेबल नेपाल २३ वर्षदेखि नेपालभरि विभिन्न सामाजिक कार्यमा संलग्न छ । विषेशगरी संस्थाले शिक्षा, स्वास्थ्य तथा पर्यावरणको श्रेत्रमा अग्रसर भई कार्य गरिरहेको छ ।

नवनिर्वाचित कार्यसमितिले खासगरी आफ्नो कार्यकालमा राउन्ड टेबलले सुरु गरेका कार्यक्रम जस्तै: विद्यालयहरुको स्तरोन्नति, राउन्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकालाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम तथा १ देश १ लाख बिरुवाको नारालाई निरन्तरता दिनेछ ।

साथै, आफ्ना सदस्यलाई विभिन्न तालिम तथा गोष्ठी आयोजना गरी सदस्यको सीप विकासका साथै सदस्यहरुबीचको सम्बन्ध अझ सुदृढ गर्ने योजना रहेको जानकारी गराइएको छ ।


रवि धिताल