एसिया कप: रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालका लागि ऐतिहासिक



काठमाडौं । श्रीलंकामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट रंगशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३:१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारतीय टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २:४५ बजे टस हुनेछ, जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ । नेपाल र भारतबीचको खेलको हरेक क्षण नेपालका लागि महत्वपूर्ण रहनेछ ।

भारत छिमेकी राष्ट्र भए पनि नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा भारतसँग खेल्न २७ वर्ष कुनुपर्‍यो । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलोपटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलोपटक सिनियर टोलीमा आमने–सामने हुन लागेका हुन् ।

नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यु १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।

एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहन्छ तर विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुने छैन । एसिया कपको यस खेलले समूह ए को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

समूह ए मा रहेका नेपाल र भारतले समान एक-एक खेल खेलेका छन् । नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अंक बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक-एक अंक बाँडेका हुन् ।

समूह ए मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अंक छ । एक खेल खेलेको नेपाल अंकविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।

समूह चरणको अन्तिम भारतविरुको खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल छन् ।


रवि धिताल