‘आर्थिक कूटनीतिमा निजी क्षेत्रसँग सहकार्य अपरिहार्य’



काठमाडौं । मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवर्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘प्रभावकारी आर्थिक कूटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य’ विषयक छलफलमा वक्ताहरुले उक्त धारणा राखेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले निर्यात तथा पर्यटन प्रवर्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको वताए । विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदूतहरुले पनि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उनको धारणा छ ।

नेपाल सरकार सुरक्षा परिषदका सल्लाहकार तथा पूर्व मुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरुले आफ्नो दायरा विस्तार गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।

मुख्य सचिव वैकुण्ठ अर्यालले नवनियुक्त राजदूतहरुलाई शुभकामना दिँदै आर्थिक कूटनीति विस्तारका लागि बहुपक्षीय निकायहरुसँगको सहकार्य पनि आवश्यक रहेको बताए । यसैगरि निजी क्षेत्रले पनि वस्तु र बजार विविधीकरणमा ध्यान दिनुपर्ने जानकारी दिए ।

श्रम सचिव केवल भण्डारीले आर्थिक कूटनीतिलाई श्रम कूटनीति भन्नुपर्ने सुझाव दिए । अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कूटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने जनाए ।

वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत भूमिका बढाउन आवश्यक रहेको बताए । अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा छ ।

प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्यूनीकरणमा पनि नियोगहरुको भूमिका महत्वपूर्ण रहने जानकारी दिए । पर्यटन सचिव भरतमणि सुवेदीले नयाँ खुलेका पोखरा र गौतम बु्द्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नियोगहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूतहरुको उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरु सकारात्मक मात्र भए पनि निक्कै सहज हुने अनुभव सुनाए । ‘नियोगहरुले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,’ उनले भने ।

धेरै उदीयमान र विकसित अर्थतन्त्रहरुमा व्यापार विस्तार, लगानी तथा पर्यटन प्रवर्धनका आधारमा राजदूतहरुको मूल्यांकन हुने गरेको पनि उनले बताए । यसका लागि महासंघ निरन्तर सहकार्य गर्न तयार रहेको उनको कथन छ ।

नवनियुक्त राजदूतहरुका तर्फबाट बोल्दै थाइल्यान्डका लागि नवनियुक्त राजदूत धनबहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य विषयमा केन्द्रित भएर सुझाव दिनुपर्ने तर्क गरे ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने धारणा राखे । सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्यान्डका लागि वली, यूएईका लागि तेजबहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्विट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र संघ नियोगका लागि लोकबहादुर थापालाई राजदूत नियुक्त गरेको छ ।


रवि धिताल