सुनको अनुसन्धानमा सहयोग गर्न सीआईबीको आग्रह



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा सहयोग गर्न आग्रह गरेको छ ।

विभिन्न गिरोहले अवैध रुपमा भन्सार छली ल्याएको सुन प्रकरणका सम्बन्धमा केही दिनयता विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित भएको समाचारका सम्बन्धमा ध्यानाकर्षण भएको पनि सीआईबीले जनाएको छ ।

एक महिनाअघि भन्सार छलेर ल्याइएको सुनको सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको स्मरण गराउँदै सीआईबीले यसअघि पनि विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत अनुसन्धान भइरहेको जनाएको छ ।

यससम्बन्धमा कसैसँग केही सूचना, तथ्य वा प्रमाण भएमा जानकारी दिई सहयोग गर्न सीआईबीले आग्रह गरेको हो । यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने प्रवक्ता नवराज अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साउन ३ गते राजस्व अनुसन्धान विभागले पक्राउ गरेको सुनमाथि विभागले १८ दिन अनुसन्धान गरेको थियो । त्यसपछि साउन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सीआईबीलाई अनुसन्धानको जिम्मा लगाइएको छ ।

सीआईबीका प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा सुनको अनुसन्धान भइरहेको छ । प्रारम्भमा एक क्विन्टल अनुमान गरिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।


रवि धिताल