चन्द्रमामा पुग्यो भारतीय यान



भारतको चन्द्रयान-३ चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण भएको छ । नेपाली समयानुसार बुधबार बेलुका ६:१९ बजे यानले चन्द्रमामा ‘सफ्ट-ल्यान्डिङ’ गरेको हो ।

चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ ।

इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो । जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण गरेको थियो ।

अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौथो देश बनेको छ ।

यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना-२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनामा परेको थियो ।


रवि धिताल