अदुवाको मूल्यमा उछालः गत वर्षभन्दा ४ गुणा महँगो, भन्सारको तथ्यांक भने ‘अवास्तविक’



काठमाडौं । गत वर्ष प्रतिकिलो ३१ रुपैयाँले निकासी भएको अदुवा यसपटक १२० रुपैयाँ प्रतिकिलोका दरले निकासी भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष साउनमा ६ करोड ९७ लाख ४१ हजार रुपैयाँबराबरको २१ हजार ८४७ क्विन्टल अदुवा निकासी भएको थियो । यो वर्षको साउनमा २३ करोड २४ लाख ४४ हजार रुपैयाँबराबरको १८ हजार ९५६ क्विन्टल अदुवा भारत निकासी भएको हो ।

गत वर्ष अदुवा प्रतिक्विन्टल ३ हजार २ सय रुपैयाँ हाराहारीमा निकासी भएको थियो भने यो वर्ष प्रतिक्विन्टल १२ हजार २ सय रुपैयाँभन्दा बढीले निकासी भएको छ ।

त्यस्तै गत वर्ष साउनमा ६२ लाख ४० हजार रुपैयाँबराबरको ३९ हजार किलो सुठो निकासी भएकोमा गएको साउनमा १ करोड १ लाख ६७ हजार रुपैयाँबराबरको ४६ हजार ८५० किलो सुठो निकासी भएको छ । सुठो गत वर्ष साउनमा १६० रुपैयाँ किलो र गएको साउनमा २१७ किलोले निकासी भएको छ ।

वास्तविक तथ्यांक भने झन् धेरै

भन्सार विभागले उल्लेख गरेको निकासी मूल्य र बजारमा कारोबार भएको निकासी मूल्य भने निकै फरक पर्ने गरेको छ । गत वर्ष किसानले प्रतिकिलो ६०-६२ रुपैयाँका दरले अदुवा बेचेका थिए । तर, दुई-तीन तहका व्यापारी पार गरेर भन्सार कार्यालयले अदुवा ३१ रुपैयाँ प्रतिकिलोका दरले निकासी भएको थियो ।

इलाम साङ्रुम्बाका धातृप्रसाद मिश्रका अनुसार यो वर्ष पनि किसानले ७ हजार रुपैयाँ मनका दरले अदुवा बेचेका छन् । त्यो भने प्रतिकिलो १७५ सय रुपैयाँ हो । ‘यसपटक कहिल्यै नआएको मूल्य आयो !’ उनले भने, ‘भाउ पनि अचम्मै आयो, अदुवा कुहिएर कामै लागेन ।’

तर, भन्सार विभागको तथ्यांकअनुसार साउनमा १२० रुपैयाँ प्रतिकिलोले अदुवा निकासी भएको छ । किसानबाट १७५ रुपैयाँ प्रतिकिलोका दरले किनेर १२० रुपैयाँमा बेच्दा कसरी हुन्छ फाइदा ? ‘यो त धेरै अचम्म भयो, नाफा पनि त खानुपर्ला,’ मिश्रले भने, ‘हामीले नै यहाँका स्थानीय व्यापारीले ९ हजार रुपैयाँ मन (२२५ रुपैयाँ किलो)ले बेचेको थाहा पायौं ।’

औसत १० हजार रुपैयाँ मन अर्थात् २५ हजार रुपैयाँ क्विन्टल मात्र अदुवा भारत निकासी भएको अनुमान गर्ने हो भने पनि साउनमा निकासी भएको अदुवाको मूल्य ४७ करोड ३९ लाख रुपैयाँभन्दा बढी हुन्छ ।


रवि धिताल