बाँकेका पशुपालक कृषकलाई सुत्केरी भत्ता



बाँके । बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन् ।

जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका (सुत्केरी) गाई र भैँसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन् । बीमा गरिएका पशुका कृषकलाई बैजानाथ गाउँपालिकामा तीन हजार र कोहलपुर नगरपालिकामा दुई हजार सुत्केरी भत्ता प्रदान गरिने ती स्थानीय तहका पशु विकास शाखाले जनाएका छन् ।

‘यो कृषकले असाध्यै मन पराएको कार्यक्रम हो, त्यसैले झन् यसमा आकर्षण बढ्दै गएको छ,’ कोहलपुरका पशु सेवा शाखाका अधिकृत गोविन्दबहादुर रोकायले भने । उनले पशु चौपाया सुत्केरी भएपछि पोषण आवश्यक हुने भएकाले उनीहरुलाई पोषणको अभाव हुन नदिन सो कार्यक्रम सुरु हुन लागेको जानकारी दिए ।

‘व्यावसायिक पशुपालन गर्नुभएका कृषकले बढीमा ५० हजारसम्म र साना कृषकले दुई हजारदेखि १० हजारसम्म लैजानुभएको छ, नगरपालिकाका १५ वडामध्ये सबैभन्दा बढी १३ नं वडामा गाई र भैँसीको सुत्केरी भत्ता लैजाने कृषक धेरै हुनुहुन्छ,’ उनले भने ।

पशु सेवा शाखाको वार्षिक कार्यक्रमअनुसार पशुको लगत लिन नगरपालिकाले सूचनासमेत जारी गरेको छ । कोहलपुरमा विसं २०७५ देखि सो कार्यक्रम सुरु भएको जनाइएको छ ।

रोकायले गत वर्ष पाँच सय ३४ पशु चौपायाका लागि १० लाख ६ हजार आठ सय गाई र भैँसीको सुत्केरी भत्तामा खर्च भएको जानकारी दिँदै यस वर्ष चार सय गाई र भैँसीका लागि आठ लाख सुत्केरी भत्ता प्रदान गरिने तयारी भएको बताए । ‘गत वर्षभन्दा यस वर्ष बढी नै हुन्छ, बजेट रकमान्तर गरेर भए पनि कृषकलाई पशु, चौपायाको सुत्केरी भत्ता दिन्छौँ,’ उनले भने ।

बैजनाथ गाउँपालिकाले पशु, चौपायाको सुत्केरी भत्ताका लागि गत वर्ष २४ लाख २१ हजार वितरण गरेको जनाएको छ । सो पालिकामा आठ सय सात गाई र भैँसीका लागि सो रकम खर्च भएको हो ।

आव २०७८/७९ मा गाउँपालिकाले चार सय १२ गाई र भैँसीका लागि रु १२ लाख ३६ हजार पशुपालक कृषकलाई सुत्केरी भत्ताका रुपमा वितरण गरेको गाउँपालिकाका पशु विकास अधिकृत खडगबहादुर सिंहले जानकारी दिए ।

‘यस वर्षका लागि छलफल चलिरहेको छ, तर टुङ्गोमा पुगेका छैनौँ,’ उनले भने । सिंहले यस वर्षका लागि ३० लाख बजेट प्रस्ताव भएको समेत जानकारी दिए ।


रवि धिताल