बंगलादेशसँग छिट्टै विद्युत् व्यापार सम्झौता हुन्छः मन्त्री बस्नेत



चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा समेत गरिने स्पष्ट पारे ।

‘औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ,’ उनले भने, ‘सम्झौतापछि कार्यान्वयनमा जान्छ ।’ उनले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुन लागेको बताए । ‘हामी पूर्णरुपमा आत्मनिर्भर बन्दैछौँ, यससँगै सबै समस्याको समाधान हुन्छ,’ उनले भने ।

वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उनको भनाइ छ । ५० प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पुर्‍याएको भन्दै उनले हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी गरे ।

‘अबको सुख्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जान्छन्,’ उनले भने, ‘सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ ।’ यससँगै सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको मन्त्री बस्नेतले बताए ।

‘सबैलाई थप प्रभावकारी बनाउनका लागि नीतिगत र कानुन सुधारका काम हामीले गरिरहेका छौं,’ उनले भने ।


क्लिकमान्डु