एलओडीको गोदाममा लगाएको सील खुल्यो, ठमेलका अन्य क्लबमा राजस्व अनुसन्धानको छापा



काठमाडौं । राजस्व अनुसन्धान विभागले ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी)को गोदाममा लगाएको सील खोलेको छ ।

कर छली गरेको आशंकामा गत साउन २७ गते बिहान विभागको टोलीले एलओडीमा छापा मार्दै मदिरा लगायतका सामान राख्ने गोदाममा सील लगाएको थियो ।

विभागले आर्थिक कारोबार सम्बन्धी सबै विवरण नियन्त्रणमा लिँदै एलओडीमाथि छानबिन सुरु गरिसेको छ । छानबिनका क्रममा एलओडीको गोदाममा भएका सामानको लगत लिएपछि विभागले गोदाममा लगाएको सील खोलेको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

‘व्यवसायलाई अवरोध गर्नेभन्दा कर छली गरे वा नगरेको विषयमा अनुसन्धान गर्ने हाम्रो उद्देश्य हो,’ ढुंगानाले भने, ‘विभागबाट खटिएको टोलीले एलओडीको गोदाममा रहेको सबै सामानको रेडर्क प्रमाणित गरेपछि हामीले सील खोलिसकेका छौं ।’

दिनमा लाखौं रुपैयाँको कारोबार गर्दासमेत कानुनअनुसार मूल्य अभिवृद्धि कर र आय कर नतिरेको लिखित उजुरीका आधारमा विभागले एलओडीमा छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको विभागका अधिकारीहरु बताउँछन् ।

विभागका एक अधिकारीले भने, ‘अनुसन्धान जारी रहेकाले कति कर छली भयो भन्न सकिन्न । प्रारम्भिक अनुसन्धान प्रतिवेदन आएपछि मात्रै कर छलिको परिणम बारे एकिन हुन सक्छ ।’

एलओडीका मुख्य सञ्चालक राजु सिंह सुवाल र रविन श्रेष्ठ हुन् । विभागले एलओडीमा छापा मारेपछि केही विभागसँग सम्पर्कमा नरहेका उनीहरु दुई जनाले हाल विभागलाई अनुसन्धानमा सहयोग गरिरहेका छन् ।

‘हामीले उहाँहरुलाई कानून अनुसार अनुसन्धान गर्ने भन्दै राजनीतिक शक्ति प्रयोग नगर्न भनेका छौं, ’विभागका अनुसन्धान अधिकृतले भने, ‘राजस्व नउठेको नयाँ क्षेत्र पहिचान गर्नु पर्ने राज्यको नीतिअनुसार क्लबहरुमा छापा मारिकएको हो । आगामी दिनमा पनि हामीहरु राजस्व छली भइरहेका क्षेत्रमा अनुसन्धान गर्नेछौं । ’

विभागले एलओडीको सिस्टमबाट कपी गरेर लगेको तथ्यांकहरु अनुसन्धान गर्न सुरु गरेको छ ।

नाबालिगलाई क्लबमा प्रवेश अनुमति दिएको आरोपमा गत असार २१ गते एलओडीका सञ्चालक पक्राउ परेका थिए । अदालतले पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश दिएपछि हाल उनीहरु तारिखमा छन् ।

एलओडी विश्वका चर्चित क्लबमध्ये ४९ औं नम्बरमा पर्ने सञ्चालकहरुको दाबी छ । एलओडीले दैनिक गर्ने कारोबारको वास्तविक बिल बिजक जारी नगरी नियमित कर छली गरिरहेको राजस्व अनुसन्धान विभागको आशंका छ ।

ठमेलमा अन्य क्लबमा पनि पारियो छापा

राजस्व अनुसन्धान विभागले होटल र हस्पिटालिटी क्षेत्रबाट ठूलो मात्रामा राजस्व छली भएको आशंकामा ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित ६ वटा नाइट क्लबहरुमा समेत छापा मारेको छ । ठमेलमा रहेको इबिजा लगाएतका क्लबमा छापा हानेको विभागका एक निर्देशकले जानकारी दिए ।

‘सबै क्लबमा ग्राहकको भिड भने थिएन,’ विभागका ती निर्देशकले भने, ‘केही क्लबले बिल दिने गरेका छन् । धेरैले बिल नदिने गरेको हामीले पाएका छौं । हामीहरु थप अनुसन्धान गरेर अन्य केही संस्थाबाट पनि क्रमश कागजात नियन्त्रणमा लिने छौं ।’


क्लिकमान्डु