कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का
पर्सा । आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।
दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगन्जस्थित खुसी जनरल स्टोर, सिद्धि विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदीश एन्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल र सम्राट ढुवानी सेवाको कारबाही स्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए ।
यस्तै पर्साको वीरगन्जकै पटेल किराना स्टोर्स, बुदर टेक्सटाइल इन्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स/ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए । प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९/८० मा १४ करोड ३९ लाख बक्यौता संकलन गरिएको छ ।
‘पटक-पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ,’ उनले भने, ‘त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।’ सबै रोक्का भएपछि केही करदाता कर बुझाउन आएको उनको भनाइ थियो ।
नियमित बजार अनुगमन थालेपछि आव २०७९/८० मा करदातासमेत बढेको आन्तरिक राजस्व कार्यालय वीरगन्जले जनाएको छ । आव २०७९/८० मा पर्सामा व्यावसायिकतर्फको करदाता दुई हजार सात सय ५० र व्यक्तिगत १० हजार दुई सय २५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले जानकारी दिए ।
यससँगै पर्सामा व्यावसायिक ४७ हजार आठ सय ८० र व्यक्तिगत ६६ हजार पाँच सय ५५ गरी एक लाख १५ हजार ४३५ करदाताको सङ्ख्या पुगेको छ ।
यसैबीच आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले आर्थिक बर्ष २०७९/८० मा सात अर्ब १४ करोड राजस्व संकलन गरेको छ ।
सो अवधिमा अन्त:शुल्कतर्फ तीन अर्ब, आयकरतर्फ तीन अर्ब, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ७४ करोड, ब्याजकरतर्फ चार करोड र घरबहाल करतर्फ पाँच करोड राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा रु आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व संकलन गरेको थियो ।
बढ्दो आर्थिक तरलता, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायतका कारणले राजस्व संकलन घटेको प्रमुख कर अधिकृत तिवारीको भनाइ छ ।