सुन तस्करी प्रकरणमा समातिएका ४ विदेशीसँग भेटियो नेपाली नागरिकता



काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा समातिएका ४ विदेशी नागरिकसँग नेपाली नागरिकता फेलापरेको छ । ‍प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, ६ जना विदेशी नागरिकमध्ये तीन जनासँग जिल्ला प्रशासन कार्यालय, काभ्रे र एक जनासँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी भएको नागरिकता भेटिएको हो ।

राजस्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय कार्यालयबाहिर सुनसहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धानको गर्न भन्दै सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो ।

त्यसक्रममा पक्राउ परेका चिनियाँ नागरिकहरुको साथमा प्रहरीले नेपाली नागरिकता र राहदानी फेला पारेको हो । स्रोतका अनुसार, प्रकरणमा पक्राउ परेका होटल भियनाका सञ्चालक दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता भेटिएको छ ।

उनको नागरिकता २०७४ मा जारी भएको देखिन्छ । त्यसपछि विभिन्न मितिमा थप दुई जनालाई नेपाली नागरिकता दिइएको भेटिएको छ ।

पक्राउ परेका चिनियाँ नागरिक डिङ सेग्फाले रामा लामाको नाममा २०२१ को डिसेम्बरमा नागरिकता लिएको भेटिएको छ । त्यस्तै, ली नेङ्काईले सोनाम लामाको नाममा नागरिकता लिएको पाइएको छ ।

थप दुई जनाको साथमा भने भारतीय आधार कार्ड फेला परेको प्रहरी प्रवक्ता कठायतले बताए । कठायतका अनुसार, नागरिकतासम्बन्धी कसुरमा प्रहरीले छुट्टै अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।


क्लिकमान्डु