बीवाईडीले सार्वजनिक गर्‍यो ५० लाखौ गाडी, ७ महिनामा १५ लाख बिक्री



काठमाडौं । न्यु इनर्जी भेइकल र पावर ब्याट्रीका लागि विश्वकै प्रमुख निर्माता कम्पनी बीवाईडीले ५० लाखौं गाडी सार्वजनिक गरेको छ ।

गत अगस्ट ९ तारिखका दिन बीवाईडीको डेन्जा एन ७ गाडीले सो माइलस्टोन हासिल गरेको हो । यति धेरै न्यु इनर्जी भेइकल उत्पादनको लक्ष्य हासिल गर्ने बीवाईडी विश्वकै पहिलो कम्पनी समेत बनेको छ ।

बीवाईडीको ग्लोबल हेडक्वार्टरमा आयोजित एक कार्यक्रममा बीवाईडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चान्फुले ५० लाखौ सवारी साधन सार्वजनिक गर्न पाउनु कम्पनीका लागि ऐतिहासिक क्षण भएको बताए । सो अवसरमा उनले कम्पनीलाई विश्वास गरी सो लक्ष्य हासिल गर्न सफल बनाउने सम्पूर्ण ग्राहक तथा अटोमोबाइल उद्योगका सहकर्मी एवं कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गरे ।

बीवाईडीले १० लाखौ न्यु इनर्जी भेइकल उत्पादनका लागि १३ वर्ष कुर्नुपरेको थियो । अर्को १८ महिनामा त्यस्ता ३० लाख र त्यसपछिको ९ महिनामै ५० लाख सवारी साधन उत्पादन गर्न सफल भएको छ।

कम्पनीका लागि सन् २०२२ निकै नै उल्लेख्य रह्यो । यो वर्ष १८ लाख ६० हजार न्यु इनर्जी भेइकल बिक्री गर्न सफल भयो । सो कार्यले सन् २०२३ मा पनि निरन्तरता पाएको छ । जनवरी देखि जुलाई सम्मको अवधिमा १५ लाख सवारी साधन बिक्री गर्न कम्पनी सफल भएको छ ।

ती मध्ये ९२ हजार ४६९ सवारी साधन अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न कम्पनी सफल भएको छ, जुन सन् २०२२ को पुरै वर्षमा बिक्री गरिएको भन्दा बढी संख्या हो । जुलाई महिना सम्ममा बीवाईडीले विश्वभर ४८ लाख भन्दा बढी न्यु इनर्जी भेइकल बिक्री गरिसकेको छ।

सन् २०१० देखि बीवाईडीले विश्वभर आफ्नो उपस्थिति बढाउदै गएको छ र सार्वजनिक यातायातका लागि न्यु इनर्जी बस र ट्याक्सी समेत उपलब्ध गराइरहेको छ ।

विश्वका ७० भन्दा बढी देशका ४०० भन्दा बढी सहरमा बीवाईडीले सार्वजनिक यातायातका इलेक्ट्रिक सवारी साधन उपलब्ध गराइरहेको छ । हाल विश्वका ५४ भन्दा बढी देशमा बीवाईडीका एट्टो ३ लगायतका न्यु इनर्जी भेइकल उपलब्ध छन् । ब्राजिलमा समेत तीनवटा नयाँ फ्याक्ट्री स्थापना गर्ने घोषणा समेत गरिएको छ ।

सन् १९९५ मा स्थापना भएको बीवाईडीले हाल सवारी साधन बाहेक ब्लेड ब्याट्री र अन्य विभिन्न प्रविधि समेत विकास गरिरहेको छ। त्यसैगरी रिसर्च एन्ड डेभलपमेन्टमा पनि प्रशस्तै रकम खर्च गरिरहेको छ ।

पृथ्वीको तापक्रम १ डिग्री सेल्सियसले घटाउने भिजनका साथ वातावरणमैत्री सवारी साधन र अन्य प्रविधि विकासमा लागेको बीवाईडीले न्यु इनर्जी भेइकलका साथ अझै राम्रो मोबिलिटी अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्लिकमान्डु