बैंकहरु साहूजीजस्तो होइन उद्योगीको सहयोगी हुनुपर्छ: ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनु पर्ने बताएका छन् ।
नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा ओलीले बैंक र उद्योगीबीच साहू र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताए ।
कुनै उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने उनको तर्क थियो।
ओलीले प्रचण्ड नेतृत्वको सरकार असहयोगी निर्मम साहूजीजस्तो भएको दाबी गरे । उनले भने,’उद्योग बन्द हुँदा व्यवसायीहरु अफ्ट्यारोमा पर्दा सरकारले ध्यान दिएको छैन । मिटरब्याजी जस्तो व्यवहार गरेको छ ।’
अहिलेको समयमा उद्योगी व्यवसायी समस्यामा परेकाले ऋण तिर्ने समय बढाएर सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो ।
ओलीले आफू निकट मानिएका व्यवसायी रामेश्वर थापाको वचाउ गरे । थापा सञ्चालक रहेको सिम्रिक एयरले ४७ लाख रुपैयाँ वक्यौता नतिरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सम्पूर्ण उडानमा रोक लगाएको थियो । सिम्रिकले बक्यौता तिरेपछि उडान सुचारु भएको थियो । यस विषयमा ओलीले सरकारले देखाएको गतिविधि राम्रो नभएको तर्क गरे ।
‘सिम्रिक हेलिकप्टरले ४७ लाख तिरेन भनेर बन्द गरिएको थियो’ ओलीले भने, ‘तर तिर्न जाँदा १ लाख रुपैयाँमात्र बाँकी रहेछ । १ लाख तिरेन भनेर उडाननै बन्द गर्नु राम्रो होइन ।’