सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ पक्राउ



काठमाडौं । सुन तस्करी प्रकरणमा थप ४ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेंगकिया छन् ।

पक्राउ परेकाहरुलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको छ । यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन २ गते ब्रेक सुमा राखिएको सुन बरामद गरेको थियो ।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनलाई सोमबार ब्रेक सुबाट निकालेर मंगलबार गालेर मापन गरिएको थियो । मंगलबार सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।


क्लिकमान्डु