प्रतिस्पर्धी बजारमै ‘सवारी’को कदमः काठमाडौंमा मात्रै होइन, उपत्यकाबाहिर पनि पाइन्छ राइड सेयरिङ सुविधा
काठमाडौं । राइड सेयरिङको अवधारणा नेपालका लागि अब नौलो छैन । मुख्यगरी काठमाडौं उपत्यकाभित्रका सहरमा प्रायःले यो सुविधाको उपयोग गरिसकेका छन् । कतिपय विदेशी लगानीका त कतिपय नेपाली लगानीकै एपहरुले विगत केही वर्षयता उपत्यकामा र अन्य केही ठाउँमा पनि यो सुविधा उपलब्ध गराउँदै आएका छन् । सरकारी तवरबाट दुई पांग्रे साधनलाई व्यावसायिक रुपमा ‘राइड सेयरिङ’मा प्रयोग गर्ने विषयमा कानुनको अभाव हुँदाहुँदै पनि यो क्षेत्रमा नेपालमा अर्बौंको भइसकेको छ ।
बजार प्रतिस्पर्धी छ । स्थापित खेलाडीहरु छन् अहिले राइड सेयरिङको क्षेत्रमा । तर, प्रसिद्ध नेपाल भने आफूहरुले प्रतिस्पर्धी बजारमा नै आफूलाई स्थापित गर्ने लक्ष्यसहित ‘सवारी’को सुरुवात गरेको बताउँछन् । झन्डै १ वर्षको गृहकार्य र करिब डेढ करोड रुपैयाँको लगानीमा प्रसिद्ध र अर्का सहसंस्थापक खगेन्द्र नेपालले सवारीलाई ल्याएका हुन् । भइरहेका राइड सेयरिङ एपहरुमा भएको सुविधासँगै अन्य सुविधाहरुसहित सवारी ल्याइएको बताउँछन् प्रसिद्ध ।
सवारीको सुरुवात २०७९ भदौबाट भएको थियो । प्रसिद्ध आफैं पनि बजारमा रहेका राइड सेयरिङ एपहरुको अत्यधिक प्रयोग गर्ने गर्थे । वर्ष दिनअघि उनलाई आपतकालीन रुपमा कतै जानुपर्ने थियो । आफ्नो घरबाट गन्तव्यतर्फ जानका लागि राइड बुक गरे उनले । तर, बार्गेनिङको कुरा आएको सम्झिन्छन् उनी ।
‘मैले बुक गरेको राइड सेयरिङ एपको ड्राइभरले टाढा भएको भन्दै एपमा देखाएको पैसामा जान सक्दिनँ, केही बढाइदिनुस भन्नुभयो,’ उनी भन्छन्, ‘त्यो कुरापछि म र मेरो पार्टनर, खगेन्द्र जीसँगै मेरो बाबा हामी तीनै जनाले यो क्षेत्रको बारेमा सोच्यौं । विदेशी एपहरु नेपालमा आइरहेको छ । हामी किन नगर्ने ? हामी पनि एकपटक प्रयास गरौं भन्ने कुरा मैले राखेको थिएँ । मेरो पार्टनर पनि कन्भिन्स हुनुभयो र हामीले सवारीको सुरुवात गर्नतर्फ लाग्यौं ।’
पहिलो कदम नाम राख्ने र त्यसलाई दर्ता गर्ने थियो । त्यसपश्चात भने एपको विकासमा वर्ष दिन खर्चिएको बताउँछन् प्रसिद्ध । भन्छन्, ‘२०७९ भदौमा कम्पनी दर्ता गरेर हामीले यसको सुरवात गरेका थियौं ।’
अहिले दर्जनभन्दा धेरै राइड सेयरिङ प्लेटफर्महरु नेपालमा छन् । उच्च प्रतिस्पर्धाको बजार छ । सवारी यो प्रतिस्पर्धी बजारमा आफूलाई फरक राख्न केही विशेषताहरुसहित आएको बताउँछन् प्रसिद्ध ।
‘राइड सेयरिङ भन्नासाथ बाइक र गाडी बुझिरहेका छन्,’ उनी भन्छन्, ‘अहिले हामीले अटो पनि थपेका छौं । र, कुनै पनि एपहरुमा नभएको ड्राइभिङ ट्रेनिङ सेन्टर पनि बुक गर्न सकिने विशेषता राखिएको छ । अब कसैलाई ड्राइभिङ सिक्न मन लागेमा त्यहीँ गएर बुझेर आउनुपर्ने हुँदैन । एपबाट नै आफू भएको क्षेत्रको पाँच किलोमिटर क्षेत्रभित्रका ड्राइभिङ सेन्टरमा बुक पनि गर्न सकिन्छ ।’
एपबाट नै सम्पूर्ण प्याकेजबारे जानकारी लिन सकिने र आफूले पनि विवरणहरु दिएर बुक गर्न सकिने विशेषता भएको प्रसिद्ध बताउँछन् ।
काठमाडौं उपत्यकासहित ६ ठाउँमा ‘सवारी’को सेवा
सवारीको सुरुवातबाटै नै आफूहरुले काठमाडौं उपत्यकाबाहिर पनि केन्द्रित भएको बताउँछन् प्रसिद्ध । सुरुवातमा नै यसले उपत्यकाका तीन जिल्ला, काठमाडौं, ललितपुर र भक्तपुरसँगै उपत्यकाबाहिरका ६ जिल्लामा आफ्नो सेवा सुरु गरेको छ । सवारीलाई उपत्यका बाहिर चितवन, बुटवल, भैरहवा, नेपालगन्ज, भैरहवा र धनगढीमा पनि सुरु गरिएको प्रसिद्धले बताए ।
‘अटोको सुविधा काठमाडौंमा हुने कुरा नै भएन,’ उनी भन्छन्, ‘हामीले तराईका भेगमा प्रायः अटो चल्ने भएकाले अटोलाई पनि लिएका छौं । त्यता टार्गेट गरेर अटो राखेका छौं ।’
सोमबार मात्रै सार्वजनिक भएको सवारीमा मगलबार साँझसम्ममा ११ जना राइडर आइसकेका थिए भने दुई जना पेन्डिङमा रहेको बताउँछन् प्रसिद्ध । ग्राहक भने ८ जनाले लगइन गरेको बताउँछन् । भन्छन्, ‘प्रि-लन्चमा हामीले रजिस्ट्रेसनको काम गरेका थिएनौं । एप नै पूरा तयार नहुँदा राइडर र ग्राहकलाई लिएर उहाँहरुको समय लिन चाहेनौं । सार्वजनिक भएको एक दिनमा जति जोडिनुभएको छ, त्यो हाम्रा लागि निकै ठूलो संख्या हो ।’
कम्पनी दर्ता गर्दा लागेको खर्च र सार्वजनिक गरेको दिन भएको कार्यक्रममा लागेको लागतबाहेक हालसम्म १ करोड ५२ लाख रुपैयाँ खर्च गरेको बताउँछन् प्रसिद्ध । प्रतिस्पर्धी बजारमा यति धेरै लगानी गरेर सवारी सुरुवात किन गर्नुपर्ने अवस्था आयो भन्ने प्रश्नमा प्रसिद्ध आफूहरु ‘लामो रेसको घोडा’को रुपमा आएको बताउँछन् । तत्कालै नाफा र नोक्सानभन्दा पनि दीर्घकालीन रुपमा नेपालमै बनेको एपमार्फत नेपालीलाई सुविधा दिने गरी सवारीलाई ल्याएको उनको भनाइ छ ।
‘अन्ततः व्यवसाय हुने भनेको राइडमार्फत नै हो,’ प्रसिद्ध भन्छन्, ‘राइडमा फरक भन्ने होइन । हामीले पनि गाडी र बाइकमा नै राइडको सेवा दिने हो । तर, हाम्रोमा इन्स्योरेन्सको सुविधा सहज छ । कोही दुर्घटनामा परेमा हाम्रोबाट इन्स्योरेन्स क्लेम गर्न जाँदा बढीमा दुई सातामा काम बन्ने गरी सम्झौता गरेका छौं । त्यसबाहेक पनि अन्य स्किम ग्राहकका लागि ल्याएका छौं ।’
सवारीमा हरेक राइड लिँदा ग्राहकले भुक्तानी गर्ने पैसामा ३ प्रतिशत क्यासब्याकको पनि सुविधा रहेको बताउँछन् प्रसिद्ध । हरेक राइडमा यो सुविधा प्राप्त हुने उनी बताउँछन् । उक्त क्यासब्याकलाई भविष्यमा प्रयोग गर्न सकिने गरी एपको विकास गरिएको उनले बताए । भन्छन्, ‘एपमा हामीले खल्तीसँग काम गरेका छौं । खल्ती वालेटले हामीलाई विभिन्न रुपमा सहयोग गर्नुभएको छ ।’
ड्राइभिङ सेन्टरको सेवामा पनि सहजता
सवारीले ग्राहकले ड्राइभिङ सेन्टर खोजेमा सहजै त्यो पनि सेवा लिन सक्ने सुविधा उपलब्ध गराउने प्रसिद्ध बताउँछन् । ग्राहकले आफू रहेको स्थानको ५ किमी रेडियस क्षेत्रमा रहेका एपमा रजिस्टर भएका ड्राइभिङ सेन्टरहरु सहजै एपमा हेर्न सक्छन् ।
‘ड्राइभिङ सेन्टरमै गएर पनि बार्गेनिङ गरेर पनि सिक्न सकिन्छ,’ उनी भन्छन्, ‘तर हामीले एपमा रजिस्टर हुनेहरुसँगको छलफलमार्फत हामीबाट सेवा लिन चाहने ग्राहकका लागि केही थप छुट र सहुलियतको सुविधा दिने छौं ।’
भौतिक रुपमा ड्राइभिङ सेन्टरमा गएर बार्गेनिङ गरिनेभन्दा पनि सहुलियत मूल्यमा सवारीले प्याकेजहरु उपलब्ध गराउने गरी काम गरेको बताउँछन् उनी । भन्छन्, ‘ड्राइभिङ सेन्टरले दिने सम्पूर्ण प्याकेज हामी उपलब्ध गराउँछौं । त्यसमा सहुलियत पनि उपलब्ध हुन्छ ।’
ड्राइभिङ सेन्टरको सुविधा लिने ग्राहकमार्फत पनि सवारीले कुनै शुल्क लिँदैन । ड्राइभिङ सेन्टरसँग नै उनीहरुलाई ग्राहक उपलब्ध गराएबापत प्याकेजअनुसार कमिसन लिने बताउँछन् उनी ।
ग्राहक र राइडर दुवैलाई सुविधा
सवारीले आफ्नो शुल्कलाई बजारमा चलेका अन्य एपहरुसँगको तुलनामा मध्यमस्तरमा राखेको छ । अहिले उपत्यकामा धेरै चल्ने पठाओ र इन्ड्राइभजस्ता राइड सेयरिङ एपसँगको तुलनामा हेर्ने हो भने सवारीमा मध्यम शुल्क लाग्ने उनी बताउँछन् ।
‘हामीले पठाओभन्दा केही सस्तो र इन्ड्राइभभन्दा केही महँगो भाडा लाग्ने गरी राखेका छौं,’ उनी भन्छन्, ‘ग्राहकको पक्षबाट यो कुरालाई ख्याल गरेर काम गरेका छौं ।
राइडरमार्फत भने कम्पनीले सवारीअनुसार कमिसन लिने योजना गरेको छ । बाइकसँग १० प्रतिशत र अटाे तथा गाडीसँग ८ प्रतिशत कमिसन लिइने प्रसिद्ध बताउँछन् । भन्छन्, ‘यसमा बिमाको शुल्क जोडिँदैन । बिमाको शुल्क हामी आफैं नै तिरिदिन्छौं । राइडरले हामीसँग आबद्ध हुनुअघि बिमा गर्नुभएको छ भने त्यो वर्षलाई भइहाल्यो । तर, छैन भने हामी नै बिमा गरिदिन्छौं ।’
उपत्यकाबाहिर पनि सेवा विस्तार गर्नुमा भने सवारीका दुवै संस्थापकको विगत पनि जोडिएको छ । उनीहरु दुवै जना उपत्यकाबाहिरकै हुन् । काठमाडौंमा उच्च प्रतिस्पर्धा भए पनि जोखिम मोल्ने निर्णय उनीहरुले गरिसकेका थिए । उपत्यकाबाहिर पनि सेवा विस्तार गर्नका लागि रिचर्स गर्न उनीहरु पोखरा र नेपालगन्ज जस्ता सहर पुगेका थिए । पोखरामा तत्कालै सेवा विस्तार गर्न नसकिएको बताउँछन् प्रसिद्ध ।
‘नेपालगन्ज जाँदा हामी आफैंले समस्या भोग्यौं,’ उनी भन्छन्, ‘त्यसै त गर्मी हुने ठाउँमा अटो कुर्न घाममा बस्नु सास्ती थियो । काठमाडौंमा हामीले सुरु गर्ने नै भएकाले यता पनि गरौं भन्ने सोच्यौं । मान्छेले राइड अर्डर गरेर घरभित्र नै बसेर कुर्न सक्ने अवस्था सिर्जना हुन्छ भन्ने ठान्यौं ।’
उपत्यकाबाहिर सवारीलाई बृहत् बनाउन आफूहरुले विभिन्न क्षेत्रमा आफ्ना प्रतिनिधि राखिएको बताउँछन् । उपत्यकाभित्रका सवारीमा काम गर्ने अहिले १७ जना रहेको बताउँछन् उनी । उपत्यकाबाहिर भने स्थानीय प्रतिनिधि र ग्राहक सेवा प्रतिनिधि गरी ६ जना छन् ।
‘मासिक रुपमा अहिले करिब १६ लाख खर्च हुने अवस्था आएको छ,’ प्रसिद्ध भन्छन्, ‘हामीले अहिले सेवालाई सहज, उत्कृष्ट र विश्वासिलो बनाउने गरी काम गरिरहेका छौं । खासमा हामी नेपालमा नेपाली राइड सेयरिङ ल्याउनुको मुख्य कारण भनेको नेपालको मुद्रा नेपालमै रहोस् भन्ने हो । हामीले ‘विदेशी होइन, स्वदेशी एप प्रयोग गरौं, नेपालको अर्थतन्त्र विदेशमा नपठाऔँ’ भन्ने नारा लिएर अघि बढेका छौं ।’
प्रतिस्पर्धी बजारमा हुर्कन समय लाग्ने बुझेको बताउँछन् प्रसिद्ध । केही वर्षका लागि संघर्ष गर्ने र आवश्यक परेमा जस्तो सुकै कदम चालेर पनि अघि बढ्ने हठ बोकेर सवारीको सुरुवात गरेको बताउँछन् उनी ।
‘हामी ऋण लिएर हुन्छ वा जेसुकै गरेर हुन्छ कम्पनीलाई अघि नै बढाएर लैजान्छौं भन्ने सोचसहित हिडेका छौं,’ उनी भन्छन्, ‘हामीलाई समय लाग्छ । हामीलाई तत्कालै फाइदा चाहिएको पनि छैन । तीन वर्षसम्म कम्तीमा संघर्ष चाहिन्छ भन्ने हामीले बुझेका छौं । काठमाडौंको प्रतिस्पर्धी बजार भएपछि हामीले सुरुवात गरेको उपत्यकाबाहिरका ठाउँमा हाम्रो लागि मोनोपोली छ । त्यो बजारबाट पनि हामीले आफूलाई अघि बढाउँदै लैजाने योजना बनाएका छौं ।’
भविष्यमा सवारीमा सुविधा थप्ने सोचसहित काम गर्ने योजना रहेको बताउँछन् उनी । भोलिका लागि कसैले सवारी एपमार्फत खानाको अपेक्षा गरेमा वा अरु किसिमको पनि सुविधा चाहेमा त्यो पनि दिने किसिमको योजना रहेको बताउँछन् ।
उनी भन्छन्, ‘अहिले हामीले खानाको सेवा उपलब्ध गराउने सोचेका छौं । र, भविष्यमा सरकारले उपत्यकाबाट बाहिर जाने सवारी साधन बसपार्कबाट मात्रै छुट्ने र टिकट काउन्टर पनि त्यहाँ नै हुनुपर्ने भएमा हामी अनलाइनमार्फत टिकेटिङको सुविधा पनि उपलब्ध गराउने पनि योजना बनाएका छौं ।’
सँगै सवारीले भविष्यमा पूर्वीक्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको प्रसिद्ध सुनाउँछन् ।
फोटो/ भिडियो: रवि धिताल