कांग्रेस सांसद पौडेलले भने: सुन तस्करी छानबिनका लागि समिति गठन गर्नुपर्छ
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानविनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उनले पनि सो आवश्यक्ता औंल्याएका हुन् ।
मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताए ।
सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसदले कडा निगरानी राख्नुपर्ने समेत उनको भनाइ थियो ।
‘राज्यले यसलाई गम्भिर विषय बनाउनु प¥यो नि । राज्यको जुन ढंगको गम्भिरता हुनुपर्ने हो, त्यो ढंगको गम्भिरता देखिएको छैन । संसदमा छलफल हुनुपर्छ । छानबिन समिति बनाउनु पर्छ । त्यसको टेक्निकल कुरा पनि बुझेका मान्छेहरु राखेर छानविन समिति बनाउनु पर्छ’ उनले भने, ‘ छानविन समिति निष्पक्ष हुनुपर्छ । मैले त पूर्व न्यायाधिशको नेतृत्वमा छानविन समिति बनाउने, त्यसलाई संसदले निगरानी गर्ने, सम्पूर्ण टेक्निकल पार्टलाई ख्याल गरेर यो सुन तस्करीको जुन पछिल्लो घटना आएको छ । यसको निर्मम ढंगबाट छानबिन गरिनुपर्छ ।’